राष्ट्रिय सभामा विनियोजन विधेयक स्वीकृत
५ आश्विन २०७८, मंगलवार १५:२३
काठमाडौं । राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ स्वीकृत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । शर्माको प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरूले भाग भने लिएनन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद आसनबाट उठेर बैठक अवरुद्ध गरे । बैठकको सुरुवातमै उठेर अवरोध गरे पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूको अवरोधलाई बेवास्ता गर्दै बैठकको काम–कारबाही अघि बढाएका थिए ।
विनियोजन विधेयक, २०७८ स्वीकृत गरियोस् भन्दै अर्थमन्त्री शर्माले राखेको प्रस्तावलाई सत्तापक्षका सांसदहरूले समथर्न गरे भने प्रतिपक्षी दल एमालेका सांसदले उठेर विरोध मात्र जनाएका थिए । त्यसैले अध्यक्ष तिमिल्सिनाले प्रस्ताव बहुमतबाट स्वीकृत भएको घोषणा गरका हुन् । अध्यक्ष तिमिल्सिनाले आउँदो बिहीबार दिउँसो लागि विधेयकमाथिको दफाबार छलफलका लागि समय तोकेका छन् । योसँगै राष्ट्रियसभा बैठक यही असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बैठकको प्रारम्भमा बोल्दै एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए ।
उनले नेकपा (एमाले)ले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया