इनरुवामा करमको जमरा राखियो – Nagarikabhiyan : National News

इनरुवामा करमको जमरा राखियो

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा उराँव समुदायले आफ्नो महान पर्व करमको लागि जमरा राखेको छ । घरघर र समूहमा समेत जमरा राख्ने काम गरेको नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठान इनरुवाले जनाएको छ । यही असोज ४ गते पर्न गएको करम पुजा मनाउने क्रममा सनिबार जमरा राखेको प्रतिष्ठानले जनाएको छ । केही दिन अघि तयारी सम्बन्धी छलफल बैठक बसी प्रतिष्ठानले भदौ २६ गते सनिबार जमरा बितरण गर्ने कार्य गर्ने निर्णय अनुसार सनिबार जमरा राखेको हो । सुनसरीका उराव समुदायले आफ्नो महान पर्व करम पूजा जमरा राखेर सुरु गरेका प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जनाएको छ । उराँवका अनुसार प्रतिष्ठानले स्वास्थ्य मन्त्रालय र प्रशासनले तोकेको प्रोटोकल मापदण्ड पालना गरेर र स्वास्थ्य सुरक्षा विधि अपनाएर करम पूजा प्रारम्भ गरेको छ । कोरोना कारणले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जमरा राख्ने कार्य सनिबार सम्पन्न गरेको जमरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधि पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने विधि भएपनि कोरानाले औपचारिक अन्य ठूला कार्यक्रम नगर्ने भएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातीको करम पूजा प्रारम्भ हुन्छ यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
अध्यक्ष उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हागाँ वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने र पूजाका लागि १ हप्ता अघि देखि नै जमरा राख्ने आफ्नो पुरानै संस्कार र प्ररम्परा अनुसार जमरा राखेको हो । दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि उराँव समुदायका युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो । एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन । यो वर्ष भदौ–२६ गतेबाट करम पूजा सुरु भएको र असोज ४ गते पूजाआजा सहित सम्पन्न गर्ने उराँव समुदायले राम्रो लुगा लगाउने, मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास रहेको सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले सामान्य कार्यक्रम मात्रै गर्ने प्रतिष्ठानका अध्यक्ष उराँवले जानकारी दिनुभयो ।