ओली सरकारले ल्याएको बजेट देउवा सरकारले सच्याउने
१४ भाद्र २०७८, सोमबार १३:२८
काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने निर्णय गरेको छ। आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए।
गठबन्धनका सबै पार्टीका सचेतकहरु बसेर प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा गठबन्धन अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए। बैठकमा सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गरेको खड्काको भनाइ छ।
उनका अनुसार पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट सच्याउने निर्णय गठबन्धनको बैठकले गरेको छ। बजेट सच्याउदा शिक्षक र निजामति कर्मचारीको तलब पुनराबलोकन गर्ने समेत छलफल भएको एक नेताले जानकारी दिए।
गठबन्धनमा नेपाली कांग्रेस, नकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्।
सोमबारको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरुको सहभागीता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया