साइबर स्यालहरुले फोटो जोडजाड पारेर मेरो चरित्र हत्या गर्न खोजेः विमला वली
३ भाद्र २०७८, बिहीबार १२:५६
काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (वली)ं ले परपुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन्।
बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’
राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले आफ्नो चरित्र हत्या गर्न खोजेको सांसद वलीको दाबी छ।
‘साइबर स्याल’हरूबाट चरित्र हत्याको दुष्प्रयास भएको दाबी गर्दै उनले यसमा संलग्नहरूलाई कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेकी छन्।
एमालेले आफूसँगै रहन तीव्र दबाब दिएकी सांसद वलीले पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमै रहेको घोषणा गरेकी थिइन्। लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेलको सरकार ढाल्न पनि उनी नै निर्णायक भएकी थिइन्।
‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो,’ सांसद वलीले विज्ञप्तिमा लेखेकी छन्, ‘अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुष्प्रयास स्वरूप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु।’
यस्तै वाईसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी ह्याक गरी भ्रम छर्न खोजेको दाबी गरेका छन्।
‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुःखित र गम्भीर बनाएको छ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या र बदनाम गर्न खोजिएको छ।’
तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सभाको सांसद बनेकी वली नेकपा खारेजपछि माओवादी केन्द्रमा आबद्ध भएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया