गढी गाउँपालिका ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन
२९ श्रावण २०७८, शुक्रबार १८:४०
सुनसरीको गढी गाउँपालिका ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । चारवर्षदेखी साविकको छिटाहा गाविस भवनमा वडा कार्यालयको सेवा दिदै आएको गढी गाउँपालिका ४ नम्बर वडाले आफनै भवनमा कार्यालय संचालन गर्ने अवसर पाएको छ । नयाँ भवनको प्रदेश सांसद अगमलाल चौधरीले उद्घाटन गरेपछि कार्यालय सञ्चालनमा आएको हो ।
तीनवटा कार्यकक्ष भएको र एउटा तालिम हल सहित सुविधा सम्पन्न भएको भवन उद्घाटन भएसँगै वडाबासीहरुले घरनजिकै सेवा पाउने भएको वडाध्यक्ष रामचन्द्र महतोले बताउनुभयो ।
महतोका अनुसार उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी, वडा सदस्य बेचन मियाँ, भरतकुमार साह, ममता कुमारी थरुनी, गुदनी देवी मण्डल लगायतको उपस्थिती रहेको थियो ।
वडा सचिव बद्रीनारायण खेरवारका अनुसार गाउँमा स्थानीहरुले स्थानीय सरकारको सेवा आफनै घरदैलोबाट पाउने गरी वडा कार्यालय संचालनमा ल्याएको हो ।
यसैबीच सुनसरीको गढी गाउँपालिका ४ नम्बर वडा कार्यालयको नजिकै स्वास्थ्य चौकीको पनि भवन उद्घाटन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया