गण्डकीमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे – Nagarikabhiyan : National News

गण्डकीमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो ।

उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति रहेका छन् । उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।