‘पार्टीका लैठतहरु’ भर्ती गरेर बनाइएकाले भूमि आयोग खारेज : रामनारायण बिडारी – Nagarikabhiyan : National News

‘पार्टीका लैठतहरु’ भर्ती गरेर बनाइएकाले भूमि आयोग खारेज : रामनारायण बिडारी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य (सांसद) रामनारायण बिडारीले ‘पार्टीका लैठतहरु’ भर्ती गरेर बनाइएकाले भूमि आयोग खारेज गरिएको बताएका छन्।

भूमि आयोगमा आफ्नो पार्टीका खेतालाहरु भर्ती गरेर हदबन्दी भन्दा धेरै भएका जग्गा वितरण गर्न लगाउने काम भएको उल्लेख गर्दै सांसद बिडारीले आयोग खारेज गर्ने सरकारको निर्णय सही भएको बताए।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले टी–स्टेटको जग्गा लगायत अरु सरकारी जग्गाहरु वितरण गर्न पार्टीका लैठतहरु भर्ना गरेर काम भएकाले आयोग खारेज गरिएको दाबी गरे।

‘आयोगका नाममा पैसाको दुरुपयोग हुने देखिएको थियो। अमिन वा अरुका नाममा पैसामात्र खर्च गर्ने मात्र काम गरेको छ,’ बिडारीले भने।

अब वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्नुपर्ने उल्लेख गर्दै सांसद बिडारीले गरिबमाराबाट सचेत रहेर सरकारले काम गर्नुपर्ने बताए।