ओलीलाई सच्चिन माधव नेपालले दिए एक हप्ता – Nagarikabhiyan : National News

ओलीलाई सच्चिन माधव नेपालले दिए एक हप्ता

काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी मागे मात्रै पार्टी एकता सम्भव हुने अडान लिएको छ ।

विगतमा सहमतिका लागि सम्मानजनक हैसियत मागे पनि अहिले माधव नेपाल समूहले नयाँ माग अघि सारेको छ । हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकमा अब अध्यक्ष ओलीले आफूले गरेका गल्तीबारे सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइएको छ ।

बैठकमा ५५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि केही बेरका लागि स्थगित भएको छ । बैठकमा उठेका एजेण्डाबारे जानकारी दिँदै माधव समूहका केन्द्रीय सदस्य मेटमणि चौधरीले अध्यक्षले सार्वजनिक रुपमा माफी मागे मात्रै पार्टी एकताबारे सोच्न सकिने बताएका छन् ।

‘अहिले पनि पार्टी एकताकै विषयमा छलफल भइरहेको छ । तर, यसका लागि अध्यक्षले सार्वजनिक रुपमा माफी माग्नुपर्छ’ उनले भने, ‘यसअघिका क्रियाकलाप हेर्दा माफी माग्ने कुनै सम्भावना देखिँदैन । त्यसैले नयाँ विकल्पबारे सोच्ने कि भन्ने छलफल पनि भइरहेको छ ।’

उनले बैठकमा सरकारमा जाने विषयमा पनि कुरा उठेको बताएका छने । नेता चौधरीले भने, ‘धेरै सदस्यहरुले सरकारमा सहभागी हुनुपर्ने मत राख्नुभएको छ । ओलीलाई हटाउन नसके अर्को पार्टी बनाएरै भए पनि अघि बढ्नुपर्ने आवाज बैठकमा आइरहेको छ ।’

नेता चौधरीले अध्यक्ष ओलीलाई एक साताभित्रै सार्वजनिक रुपमा माफी मागेर पार्टी एकताको वातावरण बनाउन डेटलाइन दिइने जानकारी दिए । यदि ओलीले त्यसो नगरे तल्लो तहसम्मका समानान्तर कमिटीलाई सक्रिय पनि बनाउने र सरकारमा पनि सहभागी हुने चेतावनी दिएका छन् ।