राजगढ गाउँपालिकाकालाई बदनाम गर्न खोजिएको आरोप – Nagarikabhiyan : National News

राजगढ गाउँपालिकाकालाई बदनाम गर्न खोजिएको आरोप

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाकालाई बदनाम गर्ने उद्देश्यले विपक्षी नेताहरु कपोकल्पित तथा निराधार आरोप लगाएको स्थानीयबासीसँगै जनप्रतिनिधिहरुले बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका वारेमा आएका समाचार तथा सामाजिक संजालमा देखिएको पोष्टहरुमा कुनै सत्यता नरहेको उनीहरुले बताएका हुन् ।

समाचार सम्प्रेषण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सो गाउँपालिकाका रोजगार संयोजक दिनेश कुमार यादवले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधी अनुसार प्रति श्रमिकले रु ५५ हजार पाउनु पर्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।
संचारमाध्यमले बिना जानकारीको अपुष्ट समाचार प्रकाशन गरेको प्रति असन्तुष्टि जनाउँदै संयोजक यादवले राजगढ गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै भ्रष्टाचार नभएको ठोकुवा गर्नुभयो ।

बिना जानकारीको अपुष्ट समाचार सम्प्रेषण नगर्न सम्बन्धित पक्षलाई उहाँले आग्रह समेत गर्नुभयो । पालिकामा काम गरेको श्रमिक तथा प्रतिनिधिहरुले समेत कुनै किसिमको भ्रष्टाचार नभएको दाबी गरेका छन ।
स्थानियबासीका अनुसार श्रमिकहरुले आफुले पाउनु पर्ने एक सय दिन बराबरको सम्पूर्ण रकम रु ५० हजार पाएको बताएका छन् ।
यसै सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले समेत श्रमिकहरुले पाउनु पर्ने सबै रकम प्राप्त गरिसकेको भन्दै भुक्तानी गर्ने बेलामा कुनै किसिमको त्रृटी नरहेको बताउनुभयो । उहाँले विपक्ष दलका नेतासँगै केही असन्तुष्ट जनप्रतिनिधिहरु गाउँपालिकाको राम्रो काम देखन नसकेर बदनाम गर्ने प्रयासमा लागेको र झुठा प्रचार गरिरहेको आरोप लगाउनुभयो ।

यसैबीच राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले समेत प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता नभएको र नीति र नियमलाई पालना गरी सम्पूर्ण श्रमिकहरुको पारिश्रमिक बैंक खातामा मार्फत भुक्तानी गरिएको उहाँले बताउनुभयो ।