लामो समय संवादहीनताको अवस्थामा रहेका ओली र नेता नेपालवीच आज भेटवार्ताको तयारी
१९ श्रावण २०७८, मंगलवार १३:४९
काठमाडौं । लामो समय संवादहीनताको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालवीच आज भेटवार्ता हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
मंगलवार उनीहरुवीच भेटवार्ताको तयारी भइरहेको तर स्थान भने तय भइनसकेको एक नेताले बताए ।
यसअघि ओलीनिकट नेताहरू नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटकपटक कुरा गरेका थिए। विवाद समाधान गर्न बनेको कार्यदलमा ओली समूहका तर्फबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले कतिपय कुरा ओली र नेपाल बसेर टुंग्याउन सक्ने भएकाले दुई जना भेट्नु पर्ने बताएका थिए।
२९ असारमा पदमुक्त भएपछि ओलीका आक्रामक अभिव्यक्ति र नेता नेपालको उस्तै प्रतिवादका कारण दुवै नेताहरुवीच भेटवार्ताको माहोल बन्न सकेको थिएन ।
दोस्रो र तेस्रो पुस्ताका नेताहरुको पहलका वीच सोमबार दुवै नेताहरु भेटवार्ताको लागि राजी भएका हुन् ।
अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आएका छन्। आन्तरिक विवाद चुलिएको अवस्थामा उनीहरूबीच भेटवार्ताको तयारी भइरहेको छ।
सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश दिनु, र देउवालाई नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएसँगै एमालेको विवाद अझै उत्कर्षमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया