इनरुवामा मर्मतको बजेट भएर पनि मर्मत भएन दमकल, नगर प्रमुख कारक: कार्यापालिका सदस्यहरु – Nagarikabhiyan : National News

इनरुवामा मर्मतको बजेट भएर पनि मर्मत भएन दमकल, नगर प्रमुख कारक: कार्यापालिका सदस्यहरु

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा दमकल विग्रेर थन्किएका कारणले हालै बजार क्षेत्रमा रहेको हनुमान बस्त्रालयमा भिषण आगलागी भएर करौडोको क्षती भएको विषयले चर्चा पाएको छ ।

आगलागीका कारण हनुमान बस्त्रालयको चार तल्ले भवनको चार वटा कोठा र अन्य छिमेकी छत्रबहादुर थापाको घर सहित सृजना फाईनान्स कार्यालय, कपिल टेलर्स, सन्तोषी हार्डवेयर , नेरोल्याकका पेन्टसको गोदाम र राजेक साहको रेडिमेट कपडा पसलका सम्पूर्ण सरसमान जलेर नष्ट भएकोमा कारणको रुपमा इनरुवा नगरपालिकाको दमकल तयारी अवस्थामा नहुनुलाई कार्यापालिका सदस्यहरुले लिएपनि चर्चा पाएको हो ।

इनरुवा नगरपालिकाको दमकल २४ सै घण्टा तयारी अवस्थामा रहनुपर्नेमा ६ महिना बढी समयदेखी किग्रेर थन्किएको र मर्मतको बजेट भएर पनि मर्मत नभएकाले ठूलो क्षती भएको सदस्यहरुले बताएका छन । दमकल मर्मतमा इनरुवा नगर प्रमुख राजन मेहताले समयमा नगरेको कारणले सम्पूर्ण जिम्मा लिनुपर्ने इनरुवा नगर कार्यापालिका सदस्य कैलास पान्चारीयाले बताउनुभयो ।

वहाँले यसको कारक प्रमुख भएको समेत जिकिर गर्नुभयो । वहाँले सबै काम गर्न प्रमुखले सक्ने र नयाँ दमकल ल्याउन अनि विग्रेको दमकल बनाउन नसक्ने भएकाले सबै जिम्मा लिनुपर्ने तर्क गर्नुभयो । वहाँले आफू सहितका कार्यापालिका सदस्यहरुले दमकलको बारेमा कुरा उठाएपनि वेवास्ता गर्ने नगर प्रमुखले नेकपाको बहुमत भन्दै केही आसेपासेलाई लगाएर सामाजिक सञ्जालमा बदनाम गर्न खोजेको भन्दै खण्डन समेत गर्नुभयो ।

अर्का सदस्य तथा इनरुवा ३ का वडा अध्यक्ष कालुराम गुरुगंले नगरको विकासमा बाधक र आफ्नो पार्टी र व्यक्तिगत काममा व्यस्त रहने प्रमुख मेहतका कारणले आफूहरु समेत मारमा परेको बताउनुभयो । वहाँले नगरमा कार्यापालिकामा नेकपाको बहुमत भएपनि एकल काम गर्ने प्रमुख मेहताको कारणले इनरुवामा अति आवश्यक रहेको दमकल विग्रेको आधा वर्ष हुदाँ समेत नबनाई करौडोको क्षती वेहोर्नुपरेको बताउनुभयो ।

केही सामाजिक सञ्जालमा नेकपाको कारणले दमकल खरिद र मर्मत नभएको विषयमा कुनै सत्यता नभएको समेत गुरुगंले प्रष्ट पार्नुभयो । नयाँ किन्ने विषयमा नगर प्रमुखले प्रस्ताव नल्याएको र मर्मतको लागि बजेट ७९ लाख रुपियाँ विनियोजन नभएकाले कार्यापालिकाको निणर्य नचाहिने हुदाँहुदै दोष थुपार्ने र आफू उम्किने प्रयासमा रहेको गुरुगंको भनाई छ ।

अर्का सदस्य तथा इनरुवा ४ का वडा अध्यक्ष श्यामदेव मेहताले इनरुवा नगरपालिकाको दमकल तयारी अवस्थामा हुनुपर्नेमा नभएकोमा दुख लागेको भन्दै नगर प्रमुखले मर्मत र इन्धनको बजेट हुदाँहुदै समयमा दमकललाई नबनाएको र कार्यापालिका सदस्यहरुलाई समेत गुम्राहामा पारेको प्रतिकृया दिनुभयो ।

मेहताले नगर प्रमुखले आफू अनुकुल मात्रै काम गरेको र नगरबासीको हित कहिले नचिताएको कारणले इनरुवामा भिषण आगलागी हुदाँ समेत जिल्लाका अन्य पालिका र जिल्ला बाहिरबाट दमकल ल्याएर आयो नियन्त्रण गर्नुपरेको बताउनुभयो ।

आगलागी भएको भवनमा टाँसिएर रहेको छत्र बहादुर थापाको घरको माथिल्लो तल्लामा रहेको सिर्जना फाइनान्स लिमिटेड, तल्लो तल्लामा रहेको रेडिमेट कपडा पसल र कपिल परियारको टेलर्स छेउमा रहेको सन्तोषी हार्डवेयरको पसल तथा गोदाममा समेतमा गरेर १० करोडको क्षति भएको थियो ।

इनरुवाको दमकल नभएकाले आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएको थियो भने मोरगं र सप्तरी समेतबाट दमकल आएको थियो । त्यसलगतै दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका सहितका ९ वटा बारुण यन्त्रले ६ घण्टा लगाएर आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।