धनुषामा सरकारी स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
१५ श्रावण २०७८, शुक्रबार ०७:३०
जनकपुरधाम । धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स्कर्पिओ तीव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
दुर्घटनामा ज्यान जानेमा महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेकटर तिलक सुनारले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
पाँच जना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ । उनीहरुको नाम अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया