माइतीघरमा युथ फोर्सले गरेको फोहोर सफा गर्दै डा. केसी – Nagarikabhiyan : National News

माइतीघरमा युथ फोर्सले गरेको फोहोर सफा गर्दै डा. केसी

काठमाडाैं । नेकपा एमाले केपी शर्मा ओली निकट युवासंघ अन्तर्गत गठित युथफोर्सको जुलुसमा सहभागी कार्यकर्ताहरुले गरेको फोहोर डा गोविन्द केसीसहितको टोलीले उठाएका छन्।

शनिबार दिउँसो युथ फोर्सले शक्ति प्रदर्शन जुलुसका क्रममा बाटोमा छोडेका फोहोर सडकबाट उठाएका हुन् । माइतीघरबाट सुरु भएको युथ फोर्सको मार्चपास नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुन:बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुगेर अन्त्य भएको थियो ।

उक्त जुलुसमा सहभागी कार्यकर्ताहरुले सडक र बगैँचामा गरेको फोहोर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथितिविरुद्ध आन्दोलन गर्न जम्मा भएका केसीसहितको टोलीले संकलन गरेर व्यवस्थापन गरेको हो।

‘माइतीघरमा विपी प्रतिष्ठानमा हुँदै गरेको आन्दोलनको समर्थनमा डा केसीसहित हामी केही साथीहरु थियौं। युथ फोर्सको कार्यक्रम नजिकै सकिँदै रहेछ। बाटोभरि बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि फालिएको रहेछ। हाम्रो समर्थन कार्यक्रम सकिएपछि हामीले माइतीघर सफा गर्यौं,’  विवेकशील साझाका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।