झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु – Nagarikabhiyan : National News

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

झापा । झापाको गौरादह नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सोमबार साझ भएको दुर्घटनामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका छन् ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।