प्रधानमन्त्री देउवा मनित्रमण्डल विस्तार गर्ने तयारीमा: क-कसले गर्दैछन् मन्त्री बन्न लविङ्ग ? – Nagarikabhiyan : National News

प्रधानमन्त्री देउवा मनित्रमण्डल विस्तार गर्ने तयारीमा: क-कसले गर्दैछन् मन्त्री बन्न लविङ्ग ?

काठमाडौं। प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ ।

आइतवार सोचेको भन्दा धेरै मत पाएपछि डेढमहिनाको सरकार चलाउन ढुक्क हुनुभएका प्रधानमन्त्री देउवाले सबैलाई समेटेर मन्त्री थप्ने तयारी गर्नुभएको हो ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियो । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरू कै दिन शपथ गराइएको थियो ।

विश्वासको मत लिएपछि विस्तार गर्ने भन्दै शुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाइएको थियो । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य थपेर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेको बताइएको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र विश्वासको मत दिएका एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुन राजी भएमा उनीहरुलाई समेत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना छ ।

पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन दिएपनि जसपाको महन्थ ठाकुर पक्ष भने सरकारमा सहभागी नहुने निर्णय गरेको छ । उपेन्द्र यादव पक्षले पनि निर्वाचन आयोगमा रहेको पार्टी विवाद निरुपण भएपछि सरकारमा सहभागी हुने बताएको छ ।

माओवादी, जसपालगायत दललाई सरकारमा सहभागी गराउनु पर्ने भएकोले मन्त्री बन्ने आकांक्षी धेरै भएपनि कांग्रेसले थोरै मात्र मन्त्रालय राखेर गठबन्धनलाई रिझाउने तयारी गरेको छ ।

क–कसले गर्दैछन् लविङ्ग ?

पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन।

तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो।देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।

कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई पनि सहभागी गराउने निश्चित रहेको स्रोतको दाबी छ। भुसाल अहिले कांग्रेस सचेतक हुनुहुन्छ ।

संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गर्नुभएको छ । देउवानिकट केहीले भने राईलाई मन्त्री बनाउन सुझाउनुभएको छ । पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ। कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने बताइन्छ ।

संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ। एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना बढी छ।’केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई असार २९ गते नै संस्थापन इतर पक्षले सरकारमा पठाउन खोजे पनि देउवाले नचाहेको स्रोतको दाबी छ।

केन्द्रीय सदस्य गगन थापा पनि सरकारमा सहभागी हुन खोजेको जानकारी दिँदै ती नेताले भने, ‘सभापतिजीले मान्नुभयो भने संस्थापन इतर पक्षबाट उहाँ (गगनकुमार थापा) लाई पठाउनुपर्छ भन्ने मत छ।’ विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि संस्थापन इतर ९रामचन्द्र पौडेलसहितको समूह० बाट सरकारमा पठाउने खोजिएका प्रति निकटहरूले असन्तुष्टि जनाउन थालेका छन्।

मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेको स्रोतको दाबी छ। पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी छ। गठबन्धनका अन्य दलहरुलाई पनि मन्त्री छान्न सकस परेको छ ।