कोशीका कृषकलाई उन्नत जातको बंगुर वितरण
२९ असार २०७८, मंगलवार १५:३६
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सञ्चालित पशु पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नत जातको बंगुरको पाठा वितरण गरिएको छ ।
सोमबार कोशी गाउँपालिकाका विभिन्न वडाका कृषकहरुलाई बंगुरको पाठा वितरण गरिएको हो । बंगुर पालक कृषकहरुलाई बंगुरपालन व्यवसायलाई अझ व्यावसायीक बनाउन कूल ६५ वटा पाठा र २ वटा वीर वितरण गरिएको छ ।
नवदुर्गा बंगुरपालक कृषक समूहलाई २५ वटा पाठा र १ वटा वीर वितरण गरिएको हो । सप्तकोशी बाढी पिडित सामुदायिक विकास संस्थालाई ३० वटा पाठा र १ वटा वीर वितरण गरिएको छ भने सूरज बंगुरपालन समूहलाई १० वटा पाठा कार्यपालिका सदस्य श्री श्यामसुन्दर सिंहको हातबाट वितरण गरिएको हो ।
बंगुर पकेट क्षेत्र विकास कार्यक्रमका लागि आव्हान भएको सार्वजनिक सूचना बमोजिम आवेदन दिने समूह÷फर्महरु मध्ये प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी संयोजकत्वको प्राविधिक समितिको सिफारीश बमोजिम पकेट क्षेत्रका लागि समूह छनौट गरि प्राथमिकताका अधारमा वितरण गरिएको हो ।
वितरण गरिएको बंगुर ठेक्का प्रकृयाबाट छनौट भएका आपुर्तीकर्ता भूमि एग्रिकल्चरले आपुर्ती गरेको कोशी गाउँपालिकाको पशु शाखा प्रमुख गोसाई यादवले बताए ।
पशु शाखा प्रमुख यादवका अनुसार बंगुर लिने नवदुर्गा बंगुर पालन समूहका सदस्य एंव बंगुर पालक कृषक सुनिता उरावँले गाउँपालिकाले उन्नत जातको बंगुर उपलब्ध गराएकोमा खुशि व्यक्त गर्दै यसले व्यवसाय गर्न थप प्रोत्साहन मिल्ने बताइन् ।
त्यस्तै अर्का किसान ब्रह्मदेव उरावँले पकेट कार्यक्रमबाट प्राप्त बंगुरको पाठा र वीरबाट नश्ल सुधार भई व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे ।कार्यक्रममा कार्यपालिका सदस्य श्यामसुन्दर सिंहले भने कृषकहरुलाई व्यावसायिक योजना बनाएर पशुपालन गर्ने कृषकलाई सहयोग गर्न गाउँपालिका सदैव तत्पर रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया