जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीद्धारा ज्ञापन पत्र – Nagarikabhiyan : National News

जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीद्धारा ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूह सुनसरीले ज्ञापन पत्र बुझाएको छ । समूहले कोरोना कहरको दोस्रो भेरियन्टको टाप्पुका नागरिकमा परेको असर, स्थानीयको अवस्था र कोरोन संक्रमित भई उपचार गराएर फर्किएकाहरु र उनीहरुलाई राखेको आईसोलेसन केन्द्रको समेतको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
समूहले श्रीलंकाटाप्पुको नागरिकको गुनासो सुन्ने, कोरोनाबाट बच्न सचेतना जगाउने, मास्क र सेनिटाईजर वितरण गर्ने र कारोना संक्रमित तथा संक्रमित परिवार तथा पीडितको अधिकार रक्षाको वकालत गर्दै टाप्पुको अनुगमन गरिएको जानकारी सहित ज्ञापन पत्र बुझाएको छ ।
समूहले गरेको अनुमगनको क्रममा स्थानीयले उठाएको मागहरु सहितको ज्ञापन पत्र बुझाएको संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सदस्य रविन घिमिरे र फोकल पर्सन जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्रमा भनिएको छ, बराहक्षेत्र ६ र ९ नम्बरको श्रीलंकाटाप्पुमा प्रसुति गृह सहितको स्वास्थ्य संस्था संचालन गर्नुपर्ने, श्रीलंकाटाप्पुमा कम्तिमा एउटा माविसम्मको विधालय संचालन गर्नुपर्ने, टाप्पुमै प्रसुति गृह सेवा सहितको आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकीमा स्तोरोन्ती गर्नुपर्ने, पश्चिम तर्फको लालभिति तिर चारचक्के गाडि कुदने बाटो निर्माण र पुल बनाउनुपर्ने, युवा स्वरोजगारका लागि कृषि र पशु पालनलाई प्रोत्सहान गर्नुपर्ने, श्रीलांकाटाप्पुमा एउटा सार्वजनिक ऐम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, निशुल्क शैक्षिक सामग्रि, पाठ्य सामग्री र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षा तर्फ आकर्षित गर्न निशुल्क पोशाकको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी आवश्यकता अनुसार प्रकाशपुर वा महेन्द्रनगर क्षेत्रसंग टाप्पुलाई जोड्न कोशीमा पुलको व्यवस्था गर्नुपर्ने, टाप्पुमा पर्यटक भित्रियाउने सम्भावना उच्च रहेकोले पर्यटनलाई प्रवद्धन गर्नुपर्ने , टाप्पुमा शान्ती सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था गर्नुपर्ने, पालिका र वडाको सेवा लिन प्रकाशपुर र चक्रघट्टी आउनका लागि कोशीमा संचालनमा रहेको नाउँ (डुगां) बन्दाबान्दीले बन्द भएकाले आउजाउ गर्न समस्या भएको र खाध्यान पनि उदयपुर र सप्तरीको बजारबाट ल्याउन बाध्य भएकाले सुरक्षा सावधानी सहित नाउँ संचालनमा ल्याउन पहल गर्नुपर्ने माग उठाएको छ ।
प्रशासनमा बुझाएको ज्ञापन पत्रमा पर्यटन विकासका लागि रिसोर्ट निर्माणसम्मको कार्य आवश्यक रहेकाले संघीय र प्रदेश सरकारमा पनि पहल गर्नुपर्ने , हाल कोशीको पश्चिम तर्फ बढेको कटान नियन्त्रण गर्न तत्काल ध्यान दिनुपर्ने, टाप्पुमा अर्ना, हाती, वदेंलको आतंक रहेकाले त्यसको नियन्त्रणका लागि सोलार फेन्सी सहित सुरक्षाको व्यस्वथा गर्नुपर्ने , कोरोनाबाट बच्ने उपायका बारेमा सचेतनामुलक अभियान चलाउनुपर्ने सुझाव समेत दिएको छ ।
ज्ञापन पत्रमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका सहित १२ वटै पालिकामा बनाएको आईसोलेसन केन्द्रहरु संक्रमितको पायक पर्ने स्थानमा नभएको र एकै ठाउँमा धेरै वेड क्षमताका भएकाले अव पूर्व तयारी गर्दा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा सरोकारबालाहरुले त्यसमा ध्यान दिनुपर्ने , अनुगमनको क्रममा वडासम्मका प्रत्येक वडाका नागरिक सरोकारबालाहरुसंग निषेधाज्ञाको अवस्था, त्यसको असर र आईसोलेसनमा बसेको शिलसिलामा भोगेको भोगाईको बारेमा अध्ययन गर्दा कतै बेड नभएको र तयारी नरहेको कारणले संक्रमित जोखिम मोलेर घरमै बसेको र कतै पूर्ण खाली रहेकाले त्यसमा पुनरविचार गर्नुपर्ने सुझाव सेमत दिएको छ ।
त्यसैगरी समूहले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नियमित नबसेको र निशुल्क भनिएको औषधीको आपुर्ती नभएकाले सेवागा्रही मारमा परेकाले स्वास्थ्यका सरोकारबालाहरुलाई सुझाव सहित निर्देशन दिनुपर्ने, गर्भपती जाँच, परिक्षण र आईरनचक्की तथा अस्थायी परिवार नियोजनाका साधन पिल्स लगायतको अभाव देखिएकाले यसमा गम्भिर बन्नुपर्ने सुझाव दिनुपर्ने सुझाएको छ ।