अदालतबाट देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनेछ : प्रचण्ड – Nagarikabhiyan : National News

अदालतबाट देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनेछ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद प्रतिनिधिसभा पुनःस्थापना गरेर प्रधानमन्त्रीमा शेर बहादुर देउवलाई नियुक्त गर्न परमादेश दिनेमा विश्वस्त रहेका बताउनुभएको छ ।जनकपुरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रचण्डले सर्वोच्चले संसद पुनःस्थापना मात्र नभई १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने आफूहरुलाई विश्वास रहेको बताउनुभयो ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई आफ्नो पक्षमा निर्णय गर्न दबाब दिन खोजेको संकेतसमेत गर्दै उहाँले ओलीको त्यस्तो कदमले केही नहुने उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशता तर्फ अग्रसर हुँदै गइरहेको प्रमाणित भइरहेको दाबी गर्नुभयो ।प्रधानमन्त्री ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको आरोप समेत लगाउनुभयो ।माओवादी केन्द्र धनुषाको कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।