जापानमा बाढीपहिरो, २० जना बेपत्ता – Nagarikabhiyan : National News

जापानमा बाढीपहिरो, २० जना बेपत्ता

एजेन्सी । मध्यजापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखिको भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जना हराएका छन् । सिजुको जिल्लाको अतामी गाउँमा बाढीले एक दर्जन घर बगाएको जनाइएको छ ।

घर बगेपछि २० जना बेपत्ता भएका हुन् । अधिकारीहरूले शनिबार बिहानदेखि हराएका उनीहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । प्रहरी अधिकारीले हराएकाहरूको खोजी भइरहेहको भए पनि उनीहरू जिउँदै भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षा तथा बाढीका कारण अतामीका साथै नजिकैका गाउँका हजारौं मानिस प्रभावित भएको जनाइएको छ ।

त्यस्तै, जापानको मध्यक्षेत्र सिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिस पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।