बेदुराम भुसालको सांसद पद खारेज हुने – Nagarikabhiyan : National News

बेदुराम भुसालको सांसद पद खारेज हुने

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक खिमलाल भट्टराईले स्वतन्त्र सांसदको हैसियत माग गरेर वेदुराम भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको बताएका छन् ।

भुसालले अदालतको फैसलाबाट आफू दलविहीन बनेको भन्दै स्वतन्त्र सांसदका रुपमा व्यवहार गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्ने भए पनि सांसद भई रहन सम्भव नहुने भट्टराईले बताएका छन् ।

 

सामाजिक सञ्जालमा भट्टराई लेखेका छन्, ‘राष्ट्रिय सभा सदस्य बेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन सम्भव हुँदैन ।’

नेकपा एमाले र माओवादी केन्द्रमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्ने भन्दै त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन नसक्ने उनको दाबी छ । ‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुन सक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्छ ? भट्टराईको प्रश्न छ, यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।

उनले एमाले वरिष्ठ नेता माधव नेपाल माथि पनि प्रश्न उठाएका छन् । कमरेड माधवकुमार नेपालले अहिलेसम्म आफूलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब उहाँ के भन्नु हुन्छ ? उहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त ?,’ उनले लेखेका छन् ।