माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गुम्यो – Nagarikabhiyan : National News

माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गुम्यो

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले विज्ञप्ति जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।

२०७४ सालको पालिका चुनावमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

यस्तै रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।

यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेशकुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का वडा अध्यक्ष पुरनसिंह वि.सी. पनि पदमुक्त भएका छन् ।