सर्वाेच्च अदालतले पटक पटक झड्का दिन थालेपछि प्रधानमन्त्रीओलीले तिव्र बनाए छलफल – Nagarikabhiyan : National News

सर्वाेच्च अदालतले पटक पटक झड्का दिन थालेपछि प्रधानमन्त्रीओलीले तिव्र बनाए छलफल

काठमाडौँ । सर्वाेच्च अदालतले पटक पटक झड्का दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तिव्रता दिनुभएको छ ।

आफ्नो मन्त्रिपरिषदका २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै मंगलबार अदालतले उनीहरुको जिम्मेवारी खोसेपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नयाँ रणनीति बनाउन छलफललाई तिव्रता दिनुभएको हो ।

बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटारमा बोलाएर अब कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव माग्नुभएका ओलीले अब कानुन व्यवसायीहरूसँग पनि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने तयारी गर्नुभएको छ ।

‘आन्तरिक रुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बुधबार दिनभर छलफल गर्नुभएको छ । त्यसमा खासगरी सर्वोच्च अदालतले पछिल्लो पटक विस्तारित मन्त्रिपरिषदका २० सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको अवस्थामा विश्लेषण र सुझावहरु माग्ने काम भएको छ’, ओली निकट एक स्थायी समिति सदस्यले भने, ‘हामीले आफुलाई लागेका सुझावहरु दियौँ ।’

ओलीले बुधबार पहिलो चरणमा आफ्नो मन्त्रीमण्डलमा रहेर अदालतको आदेशपछि पद खोसिएका मन्त्री र दोस्रो लटमा आफू निकट स्थायी समिति सदस्यहरुसँग सामान्य छलफल र बढि सुझाव माग्नुभएको थियो ।

त्यसक्रममा ओलीले राजनीतिक मुद्दामा अदालतले अलि बढी हस्तक्षेप गर्न थालेको भन्दै राजनीतिक विषय राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा आफु रहेको बताएका थिए । ‘अदालतको आदेश मान्नुको विकल्प त छैन तर पछिल्ला दिनहरुमा अदालत अलि बढी नै हावी हुन खोजेको हो कि ?’, ओलीले बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रश्नको शैलीमा भन्नुभएको थियो, ‘यसले मुलुकको राजनीति गिजोलिने देखियो ।’

ओलीसँगको भेटमा सहभागी नेताहरुले विकसित राजनीतिक घटनाक्रमहरूका बारेमा विश्लेषण गर्दै चाल्नुपर्ने आवश्यक आगामी कदम चाल्न ओलीलाई निर्णय गर्न सुझाव दिएका थिए । ‘विकसित परिस्थितिमा पार्टी अध्यक्षले चाल्ने कदमहरू उहाँले नै विश्लेषण गरेर अघि बढ्नुपर्नेमा धेरैको सुझाव रह्यो’, अर्का एक नेताले भने, ‘कतिपय राजनीतिक कुराहरु राजनीतिक ढंगले नै टुङ्गिन्छ र टुङ्ग्याउनुपर्छ भन्नेमा अध्यक्ष पनि हुनुहुन्छ ।’

त्यसका लागि नेताहरुले सवैभन्दा पहिला पार्टीका असन्तुष्ट नेताहरूसँगको छलफललाई तीव्रता दिनुपर्ने सुझाव समेत दिएका थिए । ‘समस्या भनेको एमालेको अन्तरविरोधका कारण आएको हो । त्यसैले पहिला यसको समाधान गर्नु उपयुक्त हुन्छ भनेर पनि सुझावहरु आएका छन्’, ती नेताले भने, ‘अध्यक्ष ओली र वरिष्ठ नेताबीच प्रत्यक्ष कुराकानी नभएपनि विभिन्न माध्यमबाट भएका कुराकानीका बारेमा समेत छलफल भयो ।’

आफू निकटका नेताहरूसँगको छलफल सकेर ओलीले पार्टी कमिटी बैठक बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

ज्योतिन्यूज