सुरक्षा अधिकारीद्धारा कोशी क्षेत्र निरीक्षण – Nagarikabhiyan : National News

सुरक्षा अधिकारीद्धारा कोशी क्षेत्र निरीक्षण

इनरुवा, असार ८ गते । सुनसरीका सुरक्षा अधिकारीहरुले कोशी नदी तथा कोशी व्यारेज क्षेत्र निरीक्षण गरेका छन्।वर्षातको मौसममा बाढी र डुवानको सम्भावित् क्षति न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वतयारी थालिएको छ । वर्षातको समयमा आउन सक्ने बाढी तथा डुवानबाट जनधनको सम्भावित् क्षति रोक्न जिल्ला विपद् व्यवस्थापन समितिले योजना तयार पार्दै कोशी क्षेत्रको निरीक्षण गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुले मंगलबार सम्भावित बाढी र डुवानको क्षेत्रको अनुगमन गर्नुभएको हो । जोखिमको रूपमा हेरिएको कोशी ब्यारेज क्षेत्रको ढकाल नेतृत्वको टोलीले अनुगमन गर्नुभएको छ ।
बाढी र डुवानको कारण सम्भावित् विपद् व्यवस्थापनमा रोकथाम तथा प्रतिकार्यका हालसम्म भएका कामको समीक्षा गर्दै पूर्व तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । जिल्लाका सुरक्षा निकायका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गर्दै विगतका घटनाबाट पाठ सिक्दै स्थानीय तहमा बाढी र डुवानको जोखिममा रहेका स्थान, त्यहाँ बसोबास गर्ने जनसंख्या र घरधुरी यकिन गरी त्यस्ता स्थानमा मनसुन पूर्व तयारी योजना कार्यान्वयनमा लागिपरेको उहाँको भनाई छ ।
यस्ता योजनामा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघीय सरकारबाट गर्नुपर्ने काम पनि उल्लेख गरिएको हुन्छ । राहत तथा उद्दारका काममा सहयोग लिन सकिने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको स्रोत साधनको लगत संकलन र आँकलनको काम अघि बढाइने भएको छ ।
स्थानीय तहमा विपद् सम्पर्क स्थान वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र र सम्पर्क व्यक्ति तोक्ने योजना समितिको छ । मंगलबार कोशी गाउँपालीका ८ स्थित सुनसरी र सप्तरी सीमामा अवस्थित कोशी ब्यारेजको प्रजिअ ढकालसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरीका प्रमुख एसपी माधवप्रसाद पौडेल, रेडक्रसका प्रतिनिधि तथा कोभिड १९ र्यापीट रेस्पोन्स टीमका सदस्य रविन घिमिरे लगायतले सम्भावित बाढी र डुवानमा पर्ने क्षेत्रहरूको अवलोकन गर्दै कोशी प्रोजेक्टका ठेकेदारसँग समेत छलफल गरेका थिए ।