ओलीकै लाइनमा महन्थ ठाकुर: कार्यकारिणी समितिमा एकतर्फी हेरफेर गर्दै आयोगमा पत्र
५ असार २०७८, शनिबार १४:४२
काठमाडौँ । पुस ५ मा संसद विघटन गरिएसँगै दुई धारमा विभाजित तत्कालिन नेकपा भित्र प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य संख्या ४४१ बाट बढाएर ११ सय पुर्याए निर्वाचन आयोगमा पत्र पठाउनुभएको थियो । तर पछि आयोगले उक्त निर्णय अमान्य घोषणा गरिदियो ।
अहिले नेकपा खारेज भएसँगै त्यो च्याप्टर क्लोज भएको छ । तर त्यस्तै अवस्था जनता समाजवादी पार्टी नेपालमा देखिएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गर्दै निर्वाचन आयोगमा पत्र पठाउनुभएको छ ।
अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित गर्नुभएको छ ।
मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन्। ठाकुरले जेठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गरेको बताइएको छ । हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाउनुभएको छ ।
२०७७ पुस १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितीको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको ठाकुर पक्षको दाबी छ।
ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ५ गतेको कार्यकारिणी समितीले गरेको निर्णयको प्रतिलिपी समेत पेश गरेको छ।
ठाकुर आफूले हेरफेर गरेका कार्यकारिणी समिती सदस्यको बैठक जेठ ६ गते बोलाउनुभएको थियो । बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको बताइएको छ। त्यहीँ दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समिती बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय समेत गरेको थियो।
यसअघि निर्वाचन आयोगले दुवै अध्यक्षले गरेका निर्णयहरु खारेज गरिदिएको थियो । तर खारेजीपछि फेरी उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै आयोग पुगेको छ । महन्थ पक्षले गरेको निर्णय किर्ते भएको उक्त पक्षको ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया