निर्वाचन आयोगले भन्यो : जसपाको दुवै पक्षको कारबाही अमान्य
३० जेष्ठ २०७८, आईतवार १९:१४
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले गरेको कारबाही अमान्य भएको जानकारी गराउँदै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।
‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगको फैसलामा भनिएको छ, ‘पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम… अद्यावधिक गर्न मिलेन ।’
आयोले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भए पनि त्यस अनुसार नभएकोले विधान अनुसार नभएको बताएको हो । आयोगले कारबाहीको विधान अध्यावधिक गर्न नमिलेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया