बहुमत नजुटेपछि नयाँ पार्टी दर्ता गराउने अन्तिम तयारी महन्थ ठाकुर
३० जेष्ठ २०७८, आईतवार १८:३२
काठमाडौँ । संसदीय दलमा बहुमत सदस्य भएपनि केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने अन्तिम तयारी गर्नुभएको छ।
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ । बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने सोचमा पुगेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए ।
निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।
कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताले बताए ।
अहिले बबरमहलस्थित पार्टी कार्यालयमा त्यही विषयमा आन्तरिक छलफल चलिरहेको छ । जति जना सदस्यको हस्ताक्षर छ, त्यति जनाको नाम आयोगमा बुझाइदिने या नयाँ पार्टी दर्ताका लागि निवेदन दिने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि कागजात तयारी गर्ने काम भइरहेको एक नेताले जानकारी दिए ।
नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा. सुरेन्द्रकुमार झा र केशव झालाई दिइएकोमा दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसक्नुभएको छ । केशव झाले दुई अध्यक्षसहित विधान बनाउनुभएको छ भने डा. सुरेन्द्र झाले एक अध्यक्षसहितको विधान बनाएको स्रोतले बतायो ।
नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सरकारमा जाने विषयले जसापामा विवाद भएको हो । खासगरी महन्थ ठाकुर पक्षले वर्तमान सरकारलाई साथ दिएको कारण उपेन्द्र यादव पक्ष रुष्ट बनेको थियो । उपेन्द्र पक्षले यस सरकारको विरुद्धमा छ । जसको कारण पार्टी मिल्न सक्ने अवस्था नहुँदा एक पक्षले अर्काै पक्षलाई कारवाही गर्दै यसको विवाद निर्वाचन आयोगमा पुगेको थियो । तर प्रमाण बुझाउन नसक्दा ठाकुर पक्षले नयाँ पार्टी खोल्ने तयारी भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया