तत्काल विद्यालय सुचारु गर्न हतार नगर्न उच्चस्तरीय समितिलाई विज्ञको सुझाव
२२ जेष्ठ २०७७, बिहीबार २०:४३
काठमाडौं । कोरोना महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाले सुझाव दिएका छन् ।
बिहीबार उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा आयोजित छलफलमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले वैकल्पिक उपाय अपनाएर पढाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यायलयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकमा उनीहरूले लकडाउनले शिक्षा क्षेत्रमा ठूलो असर पारेको तर तत्कालै सञ्चालनमा जान नसकिने सुझाव दिएका थिए ।
छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय खोल्न र परीक्षा सञ्चालन गर्न हतार गर्न नहुने सुझाव दिएको जानकारी दिए । विद्यालय भवनलाई नै क्वारेन्टाइन बनाइएकाले पनि विद्यालय सञ्चालन सम्भव नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाल बिडारीले भर्चुअल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताए ।
सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने बताएसँगै केहि दिनयता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै आएको छ ।
समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसँग छलफल गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया