भारतको पटनामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
२१ जेष्ठ २०७७, बुधबार १६:२६
नयाँदिल्ली । भारतको बिहार राज्यमा एक १४ वर्षीया नेपाली बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
६ महिना अघिदेखि बिहरा राज्यको राजधानी पटनामा दिदी भिनाजुसँग बस्दै आएकी बालिकामाथि सोमबार साँझ ६ जनाले सामूहिक बलात्कार गरेका हुन् । उनी छिमेकीको घरमा सरसफाइको काम गर्थिन् ।
सँधैजसो सोमबार साँझ करिब पाँच बजे उनी नजिककैको एउटा अपार्टमेन्टमा काम गरेर कोठा फर्किदै गर्दा गल्लीमा ढुकेर बसेका आरोपितमध्येका एक रोशन कुमारले जबर्जस्ती मोटरसाइकलमा राखेर नजिकैको बन्दै गरेको घरमा लगेको र अन्य पाँच जनासँग मिलेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडित बालिकाले प्रहरीलाई दिएको बयानका अनुसार रोशनलगायतका आरोपित केटाहरुले उनलाई केही दिन पहिलेदेखिनै पछ्याइरहेका थिए ।
पटनाको गर्दानीबाग महिला प्रहरी थानाकी प्रमुख आरतीकुमारी जैसवालका अनुसार ती केटाहरुले बालिकालाई केही दिन पहिलेदेखि नै पछ्याइरहेको देखिन्छ सोमबार त्यस्तै मौका पारेर जबर्जस्ती लगेको हो ।
घटनालगत्तै पीडित बालिकाले रोइकराई गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पीडित बालिकाको बयानकै आधारमा तत्कालै रोशनसहित मन्टु कुमार, विकास कुमार, अंशुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार बलात्कारमा संलग्न अन्य दुई जना भने फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया