प्रदेश १ का मुख्यमन्त्री राईलाई फुर्सद लिएर बस्न विपक्षीको सुझाव – Nagarikabhiyan : National News

प्रदेश १ का मुख्यमन्त्री राईलाई फुर्सद लिएर बस्न विपक्षीको सुझाव

विराटनगर। विपक्षी दलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री राईको राजीनामाको विषय उठाएका हुन्। प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर बस्न मुख्यमन्त्री राईलाई सुझाव दिए।

उनले महामारीमा समेत जनअपेक्षा अनुसार सरकारले केही काम गर्न नसकेको आरोप लगाए। प्रदेश १ को सरकारको नेतृत्व समालिरहेका मुख्यमन्त्री राईले महामारीका बेला आश्वासनको पुलिन्दा मात्र बाँडेको उनको दाबी छ। ‘सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकारले विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरेको छ। मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ। बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्,’ उनले भने।

जनतालाई चाहिएका बेला पनि सरकार नभेटिएको भन्दै कार्कीले प्रदेश-१ का मन्त्रीहरूका लागि कार्यालय र आवास बनाइए पनि सबै मन्त्री काठमाडौंमै व्यस्त हुने गरेको बताए। उनले भने, ‘मन्त्रीहरू काठमाडौं जान व्यस्त हुनुहुन्छ। सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनुपर्छ। जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ।’

मुख्यमन्त्री राईले सांसद र जनतालाई ठगेको उनको आरोप छ। कोरोनाको उपचारका लागि छुट्ट्याएको ५० करोड रकम कहाँ गयो भन्दै उनले निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनुपर्ने अवस्था रहेको जिकिर गरे। सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै जनताले पाउने तथा महसुस गर्ने गरी बजेटको किताब बोकेर आउन उनले सुझाव दिए।