प्रदेशसभामा सरकारविरुद्ध खनिए विपक्षी
२४ जेष्ठ २०७८, सोमबार १६:२२
विराटनगर । प्रदेश नं. १ प्रदेशसभाको सोमबार सुरु भएको बजेट अधिवेशनमा विपक्षी दलहरु सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् ।
सरकारले संघीयताको मर्म अनुसार काम नगरेको, संघीय सरकारको प्रतिगामी कदमको साथ दिएको, कोरोना महामारी नियन्त्रणमा कुनै प्रभाबकारी काम नगरेको र संसदलाई छलेर अगाडि बढेको भन्दै विपक्षी दलहरुले आलोचना गरे ।
नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले नै सदन बहिष्कार गर्ने जस्तो असंसदीय हर्कत प्रदेशमा देखिएको बताए । सरकारले सदनलाई लामो समय उपेक्षा गरेको भन्दै भन्दै उनले प्रदेशमा यतिधेरै समस्या आउँदा पनि सरकार सदन छलेर मनमौजी रुपमा चल्न थालेको उल्लेख गरे ।
प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भोट माग्दै गर्दा, जनतासामु गरेका प्रतिवद्धता सरकारको कारण पुरा नहुने अवस्था आएको भन्दै कोइरालाले त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । सरकारले बजेटमा विनियोजन गरेको रकमसमेत उपलब्ध नगराएको भन्दै उनले रातो कितामा भएका योजनाको रकम कहाँ गयो भन्ने जवाफ दिनुपर्ने बताए ।
चुरे दोहन गरेर नदीजन्य पदार्थ निर्यातमा संघीय सरकारले बजेटमार्फत गरेको व्यवस्थाप्रति आपत्ति जनाउँदै कोइरालाले प्रदेशमा त्यस्तो प्रयास नगर्न चेतावनी दिए । जनमत संग्रहमा जंगल फडानी भएको र त्यसपछि सबैको नजर खोलानाला तथा पानीमा रहेको भन्दै उनले चुरे दोहन गरेर ढुंगागिटी भारत पठाउने हो भने तराई मरभूमि हुने भएकोले त्यो आपत्तीजनक निर्णय फिर्ता हुनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली नाटकका लागि सिपालु रहेको भन्दै उनले प्रदेश सरकारले त्यस्तो नाटकको सिको गर्दा प्रधानमन्त्रीबाट कलाहरु भने सिक्न नसकेको भन्दै व्यंग्य गरे ।
संघीय सरकारको सिको गर्दै सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेको भन्दै उनले आपत्ती जनाए । फागुन २३ को फैसलापछि सरकार बहुमतमा रहेको बेला संसद छलेर गुमनाम भएको उनको भनाइ थियो । बजेट अधिवेशन छल्ने प्रयास सरकारले गरेपनि आपूmहरुको दबापछि अधिवेशन सुरु भएको उनले बताए ।
प्रदेशका नागरिकलाई कोरोनाको खोप व्यवस्थित रुपमा नलगाइएको र खोपमा पनि विभेद भएको भन्दै आङ्बोले आपत्ती जनाए । सरकारले चन्दा दिने व्यापारीलाई लुकिछिपी खोप लगाएर अग्रपंक्तिमा खटिने प्राथमिकताप्राप्त समूहलाई छुटाएको उनको भनाइ छ ।
कोरोना महामारीको बेला सरकारको लापर्वाहीको कारण नागरिकको ज्यान गएको भन्दै आङ्बोले कोशी कोभिड अस्पतालमा विद्युत समस्याको कारण ६ जना विरामीको मृत्यु भएको घटनाको अनुसन्धान हुनुपर्ने माग गरे । यस्तै कोरोना महामारीको बेला त्यसमा केन्द्रित हुनुपर्नेमा प्रदेश कार्यविभाजन नियमावली उल्लंघन गर्दै रक्सी कार्यदलमा रमाइएकोप्रति उनको आपत्ती थियो ।
बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सरकारका कारण आपूmहरु जनप्रतिनिधि भएर जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए । संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको भन्दै उनले कोरोना महामारीबीच यो बैठक १० दिन अगाडि सुरु गर्न किन सकिएन र अध्यादेश ल्याउनुपरो भन्ने प्रश्न गरे ।
प्रदेशसभा जीवित रहेको अवस्थामा बैठक नबोलाएर अध्यादेश ल्याउनुको नियत के हो भन्ने उनको प्रश्न थियो । उनले निषेधाज्ञा जारी भएको यतिका दिनसम्म मजदूर वर्गले कसरी पेट पालेका छन् भन्नेबारे प्रदेश सरकारले सोधखोज नै नगरेको भन्दै खोपको व्यवस्था गर्न र स्वास्थ्य पूर्वाधार बढाउने काम गर्न नसकेकोप्रति सरकारको आलोचना गरे । प्रदेशका जनताको समस्यालाई छाडेर मुख्यमन्त्रीज्यू संघीय सरकारको मलामी हुन काठमाडौंमा केन्द्रित हुने गरेको उनको भनाइ थियो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमायाँ तुम्बाहाम्बेले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको भन्दै सानातिना बजेटमा संघीय सरकारको आँखा लाग्नु गलत भएको बताइन् । प्रदेश सरकारले पनि जनताप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको उनको भनाइ थियो । हाम्रोमत

फेसबुकबाट तपाईको प्रतिक्रिया