ठाकुर पक्षका सांसदले भने– राउत संसदीय दलको नेता भएको जानकारी छैन
२३ जेष्ठ २०७८, आईतवार १६:१३
काठमाडौं। प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिएको विषयमा महन्थ ठाकुर पक्षले अनविज्ञता जनाएको छ। उपेन्द्र यादव पक्षले संसदीय दलको बहुमत सदस्यको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको बताएका थिए। तर, ठाकुर पक्षले भने यसबारे जानकारी नरहेको बताएको हो।
जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेशसभा सांसद जितेन्द्र सोनलले राउतलाई संसदीय दलको नेता चयन गरेको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए। ठाकुर पक्षकै अर्का नेता मनिष सुमनले पनि प्रदेश २ को जसपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन भएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए।
जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा ३६ जनाको उपस्थिति रहेको बताइएको छ। जसमा ३० जना पूर्व समाजवादी पार्टीका र ६ जना पूर्वराजपा पक्षका सांसदको उपस्थिति रहेको दावी गरिएको छ।
मुख्यमन्त्री समेत रहेका लालबाबु राउतले केही दिनदेखि आफ्नो पक्षमा हस्ताक्षर संकलन गरिरहेका थिए। हस्ताक्षर संकलनमा बहुमत पुगेपछि आज संसदीय दलको नेतामा चयन भएको बताइएको छ। लोकपाटी न्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया