मेलम्चीबारे पटक–पटक झुटो आश्वासन दिँदै आएका सरकारले फेरि गरे झुटो बाचा
१८ जेष्ठ २०७७, आईतवार २०:५२
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् ।
सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ । यसपटक फेरी यो झुटको सिलसिलालाई निरन्तरता दिएका छन् डा. खतिवडाले आफ्नो बजेट भाषणमा ।
बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरु देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने’ भनिएको छ । यसअनुसार साउनबाट काठमाडौंका घरमाहरुमा मेलम्चीको पानी वितरण हुनुपर्छ ।
अहिलेको प्रगति हेर्दा यो भाका पूरा हुन सम्भव छैन । खानेपानीमन्त्री वीना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्दै मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने दावी गरेकी थिइन् । त्यसलाई नै बजेटमा निरन्तरता दिइएको हो ।
तर, आयोजनाका अधिकारीहरु साउनबाटै काठमाडौंमा खानेपानीको वितरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको बताउँछन् । आयोजनाका एक अधिकारीका अनुसार अनुसार असारसम्म सुरुङभित्रको काम सक्ने लक्ष्य छ । त्यसपछि पनि विभिन्न चरणका परीक्षणहरु बाँकी रहने भएकाले काठमाडौंमा पानी कहिलेबाट वितरण थाल्न सकिन्छ भन्ने एकिन नभएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया