इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल उद्घाटन
१७ जेष्ठ २०७८, सोमबार १४:४८
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा पहिलो पटक इनरुवा अस्पतालमा कोभिड अस्पतालको उद्घाटन गरीएको छ । इनरुवा अस्पतालको इमेरजेन्सी कक्षमा २० बेडको कोभिड अस्पतालको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गर्नुभएको हो ।
कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल संचालनमा ल्याउने गरी उद्घाटन गरिएको हो । इनरुवाका कोरोना संक्रमित बिरामीहरुलाई अन्यत्र जानु नपर्ने र इनरुवा अस्तपालमा नै उपचार गर्न सहज होस भनेर कोभिड अस्पताल संचालनमा ल्याएको मेहताले बताउनुभयो । एक महिनाको लामो प्रयास पनि प्रदेश सरकार र दाताहरुको सहयोगमा उद्घाटन गर्न सफल भएको कोभिडका संक्रमितहरुलाई मंगलवारदेखी मात्रै भर्ना गर्ने इनरुवा अस्पतालले जनाएको छ ।
कोभिड अस्पतालको उद्घाटन गर्नुहुदै मेहताले अस्पताल व्यवस्थापन समिति, इनरुवा अस्पताल,स्वास्थ्य कार्यालय सुनसरी, इनरुवा नगरपालिकाको संयुक्त प्रयास र सहयोगमा संचालनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मेरो व्यक्तिगत, हैसियत, दर्जा, अहोदा, क्षमता र नगरपालिकाले भ्याएसम्म कोभिड अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता छ ।’
उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई, अस्पतालका डाक्टर पुजा दास, इनरुवा अस्पताल विकास समिति अध्यक्ष गोपालराज भण्डारी, सदस्य रामप्रसाद मेहता, तोया गिरी लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच उधोगा वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले कोभिड अस्पतालमा उपचार गर्न आउने कोभिडका बिरामीहरुलाई निःशुल्क खाना खुवाउने प्रतिवद्धता जनाउनुभयो । यहाँ डाक्टर, अक्सिजन, आइसीयू, भेन्टीलेटर सहितको सेवा प्रवाह हुने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया