राजेन्द्र महतोलाई सोधेको ६ बुँदे स्पष्टीकरण पत्रमा के छ ? – Nagarikabhiyan : National News

राजेन्द्र महतोलाई सोधेको ६ बुँदे स्पष्टीकरण पत्रमा के छ ?

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम चलेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच श्रृंखलाबद्ध स्पष्टीकरण सोध्ने क्रम सुरु भएको हो। जसपा (यादव पक्ष) बहुमत कार्यकारिणी समिति सदस्यहरूको बैठकले ठाकुर पक्षका ४ नेतालाई स्पष्टीकरण सोधेको छ।

कार्यकारिणी समितिको जेठ ८ गते सम्पन्न बैठकको निर्णय अनुसार ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे स्पष्टीकरण सोधिएको छ। पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन महतोलाई पत्र पठाएको हुन्।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केही दिनदेखि तपाईंको काम कारबाही र क्रियाकलापहरू जसपाको नीति एवं विधि विधान विपरीत भइरहेको हुँदा कार्यकारिणी समितिको जेठ ८ गते सम्पन्न बैठकले तपाईंलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ। तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ।’

महतोलाई सोधिएको ६ बुँदा स्पष्टीकरण यस्तो छः

१. प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरीत किन साथ दिएको ?

२. पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ?

३. पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा तपाईँ किन र के आधारमा संसदीय दलको नेता स्वयम् घोषित हुन पुग्नुभयो ?

४. पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कार्यदल भएको कुरालाई किन र के आधारमा समर्थन गरी पार्टी नीति निर्णय विपरीतको कामलाई प्रश्रय किन दिनुभयो ?

५. पार्टी विधानको व्यवस्था विपरीत पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नुभएको ?

६. उपरोक्त विषयहरूका आधारमा तपाईंबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेको तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन सम्बन्धी कारबाही किन नगर्ने ? यस सन्दर्भमा यो पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएका तपाईंलाई पार्टी विधानबमोजिम अनुशासनको कारबाही हुनेछ।