बहराइनमा थप १० नेपालीमा कोरोना देखियो, संक्रमितको संख्या २२ पुग्यो
२७ चैत्र २०७६, बिहीबार ०३:३५
२७ चैत, काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।
बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
यसैबीच बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।
स्रोत: अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया