गण्डकीमा पुनर्नियुक्ति पाएका चार मन्त्रीले लिए सपथ
५ जेष्ठ २०७८, बुधबार १८:२५
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गरेका छन्। उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका हुन्। बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए।
पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन्। उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ।
यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए। कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए।
मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन्। मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया