सुनसरीका प्रमुख शहरहरुमा सेना परिचालन
१ जेष्ठ २०७८, शनिबार १०:१६
इनरूवा । सुनसरी प्रसासनले जिल्लामा लागुगरेको निषेधाज्ञामा कडाई गर्दै जिल्लाका प्रमुख शहरहरुमा सेना परिचालन गरेको छ। कोभिड-१९ का संक्रमितहरुको संख्या अत्याधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण लकडाउनमा छ।
प्रसासनले निषेधाज्ञा गरेर अत्यावस्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेपनि सर्वसाधारणले खासै चासो नराखेपछि शनिवारदेखि सेना परिचालन गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लकडाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको बताए। प्रजिअ ढकालका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिकामा सेना परिचालन भएको छ।
जिअ ढकालले भने, ‘जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको हो।’
अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले निषेधाज्ञाको पूर्ण पालना नगरेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए।
सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ।
जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया