देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै – Nagarikabhiyan : National News

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

काठमाडौँ । विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गरिपाउँ भनी राष्ट्रपति विद्यादेवी भण्डारीसामू दावी पेश गर्ने तयारी गर्नुभएको छ ।

काँग्रेसका नेता रमेश लेखकका अनुसार देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष निवेदन सदन लाग्नुभएको हो ।

बहुमतको सरकारका लागि आज दाबी गर्न जान लागेको र सोही अनुसारको तयारी भइरहेको भन्दै उहाँले बहुमत पुर्याउने काम चलिरहेको बताउनुभयो ।

देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।

मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गर्नुभएको थियो ।

देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहनुभएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि उहाँ पदमुक्त हुनुभएको छ । विपक्षीहरुले बहुमतको सरकार गठन गर्ने प्रयास गरेपनि जसपाले निर्णय नदिदा समस्या भएको छ । यता एमालेको असन्तुष्ट माधव कुमार नेपाल पक्षका नेताहरुले राजीनामा दिएर पनि देउवालाई प्रधानमन्त्री पदको लागि ढोका खोलिदिने तयारी भएको बताइएको छ । यद्यपि राजीनामा रोक्न एमालेको संस्थापन पक्ष लागि परेको छ ।

काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।

उहाँहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।

देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग पनि छलफल गर्नुभएको थियो ।