किचलो समाधान गर्न जसपा पदाधिकारीहरुको बैठक बालकुमारीमा
२९ बैशाख २०७८, बुधबार १४:५६
काठमाडौँ । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपालका नेताहरु पार्टीभित्रको किचलो समाधान गर्न र नयाँ सरकार गठनबारे धारणा बनाउने छलफलमा जुटेका छन् ।
जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको अनौपचारिक छलफल शुरु भएको जसपा अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ ।
छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताहरुद्वय राजेन्द्र महतो र अशोक राई सहभागी हनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि वैशाख ३० गते साँझ ९ बजेसम्मको समयसीमा तोक्नुभएको छ ।
विपक्षी दलहरुले नयाँ सरकार गठन गर्नै गरी तयारी थाल्दा जसपाले यकिन निर्णय नदिएको कारण अन्योल बढेको छ । विशेष गरी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ सरकारमा नजाने र तटस्थ बस्ने भनेका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले भने सरकारमा जानुपर्ने बताउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया