यसरी आज गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र बन्दैछन् मुख्यमन्त्री, भाँड्न खोज्नको पद नै जाने – Nagarikabhiyan : National News

यसरी आज गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र बन्दैछन् मुख्यमन्त्री, भाँड्न खोज्नको पद नै जाने

काठमाडौं । गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज सकिँदैछ । यदि आज राजनीतिक दलहरूले नयाँ सरकारको दाबी प्रस्तुत गर्न नसके एमालेका पृथ्वीसुब्बा गुरुङले अल्पमतको सरकार बनाउने छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोबीच गण्डकी प्रदेशमा सरकार बनाउन गठबन्धन बनेको छ । तर, तीन सांसद रहेको राजमोका कृष्ण थापाले हस्ताक्षर नगर्दा नयाँ सरकार गठनले पूर्णता पाउन सकेका छैनन् ।

उनले एमालेकै सरकारलाई समर्थन गर्ने बताएकाले ढिलाइ भएको हो । थापाले गठबन्धन सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेपछि राष्ट्रिय जनमोर्चाले आजै उनलाई स्पष्टीकरण सोधेको छ ।

उनलाई एक घन्टाको समय दिएर स्पष्टीकरण सोधिएको छ । थापाको स्पष्टीकरण आइसकेपछि मात्रै जनमोर्चाले निर्णय लिने भएको छ । यदि जनमोर्चाले थापाको जवाफ चित्त नबुझेमा उनलाई कारबाही गरेको पत्र प्रदेश सभा सचिवालयमा बुझाउने छ ।

त्यसो हुनासाथ ३० सांसद भएमा नयाँ सरकार गठन गर्न पुग्नेछ । अहिले गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र राजमोका तीन सांसद छन् ।

राजमोका एक सांसद कारबाहीमा पर्नेवित्तिकै कांग्रेसको १५, माओवादी केन्द्रका १२ र जसपाको दुई गरेर २९ सांसद हुन्छन् । राजमोको दुई थपिँदा कांग्रेसबाट मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र पोखरेल नेपालीले आजै पद तथा गोपनीयताको सपथ खाने भएका छन् ।