एकतिर लकडाउनको पीडा अर्को तिर हात्ती आतंक : पीडित – Nagarikabhiyan : National News

एकतिर लकडाउनको पीडा अर्को तिर हात्ती आतंक : पीडित

इनरुवा । दुई महिनादेखी कोरोनाको कहर र लकडाउनको पीडा छ , त्यसमाथी हजुर हाम्रो राती जंगली हात्तीको आतंक छ , घरबाहिर ननिस्केको दुई महिना भयो , राती सुत्न नपाएको पनि महिना लाग्न आटेको छ । यो गुनासो सुनसरीको कोशी गाउँपालिका ५ का स्थानीय किसान असगर अलिको हो । अलिले आफ्नो घर नजिककैको बारीमा ४ बिघा मकै खेती गर्नुभएको छ ।

त्यसमा पनि रोग किरासगैं दैनिक कोशी टप्पुबाट निस्कने जंगली हातीले नष्ट गर्ने, खाने , कुल्चिदिने, घर भत्काई दिने पीडा दिएकाले राती सुत्न नपाएको सोमबार विहान गोरखापत्रसंग गुनासो पोख्नुभयो । वहाँले भन्नुभयो , एकातिर लकडाउनको पीड अर्को तिर जंगली हात्तीको आतंकले बर्बाद गरिदिएको छ, ज्यान जोगाउन मुस्किल भएको छ ।

अलिले हात्तीका कारण केही स्थानीय त घरवारविहीन बन्न पुगेका बताउनुभयो । कोशी गाउँपालिकाका ८ वटै वडाहरूमा हात्ती आतंक बढेको अर्का स्थानीय बलबहादुर राईले बताउनुभयो ।

राईका अनुसार हात्तीले आफ्नो दुईवटा घर भत्काउनुका साथै घरमा रहेको चामल, गहुँसहित खाद्यान समेत नष्ट गरिदिएको छ । हात्तीको आक्रमणबाट पछिल्लो १ महिनामा मात्र सुनसरीको कोशी गाउँपालिकाको करोडौंको तरबारी र अन्नबाली तथा स्थानीयको घर भत्काइसकेको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेका हात्तीको हुलले दुईसाता अघि कोशी गाउँपालिका –४ जुद्द्गंजका अमजाद अलि लगायतको भान्छाघर पूर्ण रूपमा भत्काइदिएको थियो ।

उहाँको घरभित्रको सबै अन्नपातसमेत हात्तीले खाइदिएपछि उहाँको परिवारको बिजोग भएको थियो । जंगली हात्ती मानव वस्तीमा पसेको जानकारी पाए पनि सम्बन्धित निकायले तत्काल उद्दार टोली, नियन्त्रण टोलि नपठाउदा स्थानीयको धनजनको क्षती बढी हुने गरेको पीडितहरुको आरोप छ ।

उता सुनसरीको कोशी टप्पुबन्य जन्तु आरक्षबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा कयौ मानिसको ज्यान गएको र केही घाईते भएको समाचार सेलाउन नपाउदै लकडाउनको बेला हात्ती आतंक बढेको हो ।
आठ महिना अगाडि स्थानीय आन्दोलित भएकाले आरक्षको हात्तीसारको हात्तीका कारणले जंगली हात्ती आतंक बढेको भन्दै एक महिनासम्म अन्यत्र सारेको थियो ।

तर पच्छिलो पटक पर्यटन वर्षका लागि आरक्षकै हातीसारमा ल्याएकाले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ पश्चिम कुशाहामा हात्ती आतंक बढेको स्थानीयको अरोप छ । आरक्षको हात्ती सारमा रहेका सबै हात्ती पोथी भएकाले भाले जंगली हात्ती आएको भन्दै स्थानीयको आक्रोस र आरोप बढेपछि आरक्षले केही समयका लागि आरक्षकै सप्तरी तर्फको फत्तेपुरमा सारेको र हाल हात्तीसारमा सुनसरी तिर नै हात्ती राखेको छ ।

आरक्षले हात्ती आतंक नियन्त्रणमा सकृय रहेको र कहिलेकाही बाहिर निस्कने हात्तीलाई धपाउने काम भएको आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार आरक्षमा समस्या रहेको र केही स्थानीय पीडित भएकोमा क्षतीपुर्ती र उपचारको व्यवस्था समेत नियम अनुसार गरिएको छ ।

उता स्थानीयहरुले जंगली जनावर आतंक रोक्नुपर्ने, गस्ती बढाउनुपर्ने, आरक्षबाट पीडितहरुलाई तत्काल राहत र क्षतीपुर्ती दिनुपर्ने माग गर्दै आएका छन् ।
जंगली हात्तीलाई पूर्ण नियन्त्रण गर्नुपर्ने भन्दै दबाबका लागि पटक पटक घेराउ र चक्काजाम गरेकोमा समस्या समाधान नभएको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । उता सुनसरीको कोशी गाउँपालिका ५ श्रीपुर कुम्याहीमा फेरी पनि आईतबार राती कोशी ट्प्पु वन्य जन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आतंकले मकै किसानलाई समस्या भएको छ ।