महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट – Nagarikabhiyan : National News

महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी उक्त अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।

एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो डाक्टरको शुभारम्भ गरिएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासङ्घ छ ।

हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारदेखि शुरु हुनेछ । कोभिड सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड सङ्क्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ । प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श गर्नेछन् । रोग सङ्क्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण तय गर्न लागिएको महासङ्घको भनाइ छ । यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हँुदा कोभिड सङ्क्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासङ्घका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।