नेपाललाई कोभिडविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर अनुदान दिने – Nagarikabhiyan : National News

नेपाललाई कोभिडविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर अनुदान दिने

कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । कोभिड–१९ विरुद्धको लडाईका लागि सो सहयोग प्रदान गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत् सो सहयोग प्रदान गरिएको दूतावासले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।‘नेपालमा कोभिड–१९ को केसको संख्या बढेर फेरि असहज परिस्थिती सृजना हुन लागेको पृष्ठभूमिमा अमेरिकी सरकारले युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ’–विज्ञप्तीमा लेखिएको छ ।

कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता समेत गर्ने बताएको छ।

दूतावासले अमेरिका र नेपालबीचको ७० वर्षे बलियो सहकार्य र साझेदारीलाई थप सशक्त पार्ने अमेरिकाले आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने पनि बताएको छ।