सिसिएमसीको बैठक सुरु, कोरोनाबारे कस्तो हुदैछ छलफल ? – Nagarikabhiyan : National News

सिसिएमसीको बैठक सुरु, कोरोनाबारे कस्तो हुदैछ छलफल ?

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

कोरोना महामारीले भयावहरुप लिइरहेका बेला चल्नुपर्ने कदमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ। बैठकमा करोना महामारीबारे गरिएका तयारी र चाल्नु पर्ने कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रीफिङ गरिने उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए। पछिल्ला दिनहरुमा लगातारको कोरोना संक्रमितको संख्या बढिरहेकाले त्यसविरुद्ध लड्नका लागि सिसिएमसीले नयाँ रणनीति तय गर्न लागेको बुझिएको छ।

कोरोनाका बिरामी धेरै भएका ठाउँमा स्थानीय रुपमै लकडाउन गर्ने यसअघि निर्णय गरिएको छ। शनिबारको बैठकमा यस विषयमा पनि छलफल हुने जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने लकडाउनका विषयमा कुनै सिफारिस नगरेको जनाएको छ। संक्रमणको जोखिम बढ्नुको साथै उपचारको संरचनाका विषयमा भने गम्भीर हुनुपर्ने उल्लेख गरेको छ।