कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइनेछ: प्रधानमन्त्री ओली – Nagarikabhiyan : National News

कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइनेछ: प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् ।

पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेता नेपालसँग बुधबार २ घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए ।

उक्त कुराकानी भएको भोलिपल्ट बिहीबार बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले कसैले गल्ती महसुस गरेर आएपछि पार्टीमा काम गर्ने अवसर दिइने बताएका हुन् ।

हामी सम्झाइबुझाइ गरिरहेका छौं । सम्झाउने र सच्याउने प्रयास जारी छ । हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैनाैं,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई अराजकता भनेका छन् भने उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन् ।

‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ । तर, समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन । दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन । बरू डोरी चुँडिएला कोही कतै जाँदैन ।’

ओलीले पार्टीमा काम गर्ने अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं । तर, यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने ।

आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाए । ‘हामीविरूद्ध हमला यस्तो भयो कि साधारण सदस्य पनि नरहने गरी हटाइयो । केपी ओलीलाई सिध्याइयो । धुलोमा मिलाएँसमेत भनेका थिए,’ उनले भने, ‘ममाथि किन यस्तो आक्रमण थियो भने टाउकोमा हान्यो भने शरीर ढल्ने भयो । टाउकोमा हान्ने नीति उनीहरूको रह्यो ।’

उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका हुन् ।

लुम्विनी भ्वाइस