“मैले बुझ्नै नसकेको माया”
५ बैशाख २०७८, आईतवार १२:१८
“मैले बुझ्नै नसकेको माया”
खै दुवै हातमा मेहेन्दीले कस्तो रङ्ग ल्याएछ हेरौं ।
ओहो ! कस्तो गाढा हेर्दै अनुमान लाउन मिल्ने , ज्वाईंले त खुब गाढा माया गर्छ्न जस्तो छ त ,दिदिले यति भनिसक्दा
म आफ्ना विगतका यादहरुको त्यान्द्रोबाट भुईमा खसिसकेको थिए ।
तुरुन्तै जवाफ फर्काई हालेँ , जाबो ! मेहेन्दी न हो यस्ले पनि के अनुमान लाउन मिल्छ र त्यसै गफ ??
हेर्दै जा न , मेरो अनुमान फेल खाँदैन है। साँच्चै कति जिद्दी छे मेरी दिदी अनि कति निर्धक्क पनि ।
दिदिको कुरामा असहमति जनाउँदै आफ्ना तर्कहरु राख्ने, म भित्र अब कुनै शक्ति बाँकी नै छैन । म आफुलाई निर्बल घोषित गर्दै , मुस्कुराएर उसैको कुरामा हवस् भन्दै सहमति जनाउँछु।
ल , ल हेरौँला है। यति भन्दै म कुराहरु टुंग्याएर त्यहाँबाट भागेर एकान्त बासमा पुग्छु । उहि मेरो आफ्नै कोठा।
अनि एकपल्ट मज्जाले नियाल्छु वरिपरि ।
मेरो प्यारो कोठा , भोलिबाट मैले तिम्रो ख्याल राख्न पाउने छैन । सायद अब हाम्रो यो घनिष्ठ सम्बन्ध पनि उहि नरहला ।
तर म तिमीप्रति कृतज्ञ छु । मेरा अनेकौं पिडाका कथाहरु मैले तिम्रा भित्ताहरुसँग बाँडेकि छु । त्यी अनिदा रातहरुमा पनि मैले तिम्रै सेरोफेरोलाई आफ्ना आँखा भरी राखेकी छु। तिमी म सँग दोहोरो सम्वाद त गर्दैनौ तर मलाई सुनिदिन्छौ ।
मलाई म भएर रमाउन दिन्छौ । रुनँ दिन्छौ । बोल्न दिन्छौ । र बाँच्न दिन्छौ आफ्नै बनेर।
मेरो प्यारो कोठा , मेरो एकान्तबासको मुख्य आश्रय नै तिमी हौ। तर भोलिबाट सबैथोक परिवर्तन हुँदैछ ।
मेरो अस्तित्व ।
मेरो परिवार।
मेरो घर।
अनि मेरो प्यारो कोठा , भोलिबाट तिमी पनि फेरिदै छौ।
“कोठा भित्र को छ ??” सन्ध्याको आवाज सुन्ना साथ म होशियार भएँ । आँफुभित्रै चलिरहेको द्वन्दलाई रोक्ने प्रयास गरेँ अनि जवाफ फर्काएँ ।
कोठा भित्र म छु , भित्रै आउ न । मेरो निम्तो स्वीकारेर मेरो बिहे सम्म आइपुगेकि मेरी सखीलाई कोठा भित्र आउने अनुमति नदिने त कुरै थिएन ।
सन्ध्यालाई देख्नासाथ मलाई आफ्ना विगतले काउकुती लाउन थाले ।
त्यही पुराना कलेजका यादहरु।
अनुरागका यादहरु ।
अनि ताजा हुन थाहे ती सबै चोटहरु।
मैले अनुरागलाई माया गरेकै हो । जीवनभरी उसको सुखदुःखमा साथ दिने कसम पनि नखाएको हैन । हरेक पटक मन्दिर धाउँदा उसलाई पाउने ईच्छा राखेकै हुन्थेँ । आफ्नो हरेक प्राथानामा उसकै नाम लेखेकी हुन्थेँ अनि एकदिन भगवान मप्रती कृपालु भएझैं लाग्यो , अनुरागले स्वयं मायाको पहिलो कदम चाल्यो अनि त्यो कति पवित्र अपवित्र थियो, उसैले जान्दछ । मेरो नजरमा त त्यो मैले पाएको पवित्र वरदान स्वरुप थियो।
मेरो निम्ति त्यो भावना सर्वस्व थियो , मेरो अनुराग ।
तिम्रो नजिक हुँदा खुब आत्मसन्तुष्टि मिल्थ्यो । तिम्रा हरेक ब्यवहार अनि मप्रति तिमिले देखाएको त्यो आत्मीय सम्बन्ध ,उफ! म आफ्नो भन्दा बढी तिम्रो भैसकेको थिएँ।
तर यी सबैलाई हतियार बनाएर नराम्रो खेल खेल्यौ तिमिले मेरो भावनासङ्ग , मेरो मनसँग । अनि एकदिन तिमिले साँचेर राखेका मेरा गल्तीहरुको संरचनाबाट ठुलै पाठ पढाएर गयौ । जीवनमा खुब उन्नतिको शिखर चुम्नु , मेरो शुभकामना ।
बेला बेला तिमी यादमा आउने गर्छौ अनि मन नै अमिलो बनाएर जान्छौ । बैगुनी तिम्रो माया न त तिमिलाई बिर्सिने अनुमति दिन्छ न त माया गर्ने छुट नै ।
मङ्सिर महिनाको १२गते ,”साँच्चै क्यालेन्डरबाट यो मिति हटाउन मिल्दैन र ??” म भाबुक भएछु सायद , के बोल्दैछु भन्ने सम्म चाल पाइनँ।
तर मेरो प्रश्न भुईमा खस्न नपाउँदै !
“हैन के भन्दै छस् तँ हँ?? तेरो होस् त छ नि ??”भन्दै मेरो प्रश्नमा प्रतिप्रश्न गर्दै मलाई हप्काउँदै सम्झाउँछे मेरी साथी ।
झन भोलि त खास दिन हो, हामी सबैका निम्ति ।
तेरो बिहेको दिन !
परिवारमा खुसीको दिन!
तेरो भाग्य फेरिने दिन !!
“ओई कहाँ हराएकी हँ ?” सन्ध्याको आवाजले झस्किन पुगेछु ।
“कतै हैन ,तँलाई देखेर कलेजका सबै यादहरु ताजा भए ।” के-के बोलेछु होश नै पाईनँ यार । बिहेमा आईस खुसी लाग्यो ।
मेरा कुराहरु सक्न नपाउँदै मेरो हातमा आफ्नो हात राख्दै अंकमाल गर्दै सन्ध्याले सोधि अझै अनुरागको याद आउँछ हो??
अहँ आउदैन , छाडेर जानेको किन याद गर्नु र ? आफ्नो खुशी खोज्न भनी मलाई छाडेर हिँडेको फेरि उसलाई आफ्नो यादहरुमा जबरजस्ती बाँधेर राख्नु कति पनि जायज हुँदैन ।
उसलाई जवाफ फर्काएर आफ्नो मन पनि हलुका भएको अनुभुति भयो ।
खुशी त छ्स नि? सन्ध्याको अर्को प्रश्न निकै सरल थियो तर मसँग त्यसको उत्तर थिएन । यद्यपि जवाफ फर्काउनु आफ्नो कर्तव्य ठानेर , दुखी हुने कारण छैन त्यसैले खुसी छु भनिदिएँ ।
मेरो यो जवाफले सायद उसको प्रश्नको प्यास मेटाउन सकेन एकछिन केही बोलिन अनि भन्नँ थाली जीवन अगाडी बढ्नको लागी हो । प्लिज यार अब त बिर्सिएर अगाडी बढ् ।
चार वर्ष बित्न लाग्यो । उसले बिहे गरिसक्यो जीवनमा अगाडी बढिसक्यो तर तँ किन यसरी आफुलाई तड्पाउँदै छस् हँ??
उसको प्रश्नले मनमा तरङ्ग पैदा गर्यो । आखिर म किन यो सब गर्दैछु । आफैलाई सजाय दिनु पनि त अपराध हो । त्यसोभए म एक अपराधी हो ।
सन्ध्याले मलाई ऐना देखाएर गई, जहाँ मैले आफुलाई निकै कुरुप र लाचार पाएँ ।
ल, ल अब सुत धेरै सोच्नु पर्दैन जे हुन्छ राम्रै हुन्छ सुत है , म पनि सुत्छु ।
यति भन्दै सन्ध्या आफ्नो सुत्ने व्यवस्था मिलाउनतिर लाग्छे अनि मैले पनि टाउको हल्लाउँदै हुन्छ भनिदिन्छु।
मेरो बिहेको निम्तो पाएर अघिल्लै रात आएकी मेरी साथीलाई के भनेर आफ्ना बर्षौँदेखीका मनभित्रै गुम्सिएका भावनाका पोकाहरु फुकाउनु ? के कुराले यति बेचैनी बढाउदैछ मभित्र ? आजभन्दा पहिले पनि यस्तो बेचैनी त भएकै थियो तर आफ्नो जिन्दगी यस्तो रनभुल्ल हुनसक्छ भन्ने लागेको थिएन ।
जे होस मैले यो तितो सत्यलाई पिएर भोलि आफ्नै बिहेमा सामील हुनैपर्ने छ ।
चाहाँदा नचाहाँदै पनि सबैका सामु मुसुक्क नयाँ बेहुली मुस्कुराउनै पर्छ ।
मैले मेरो विवाहको लागि आफुलाई तयार बनाउनै पर्छ ।
र मैले यो नाटकको मुख्य भुमिका निर्वाह गर्नैपर्छ ।
आखिर जीवन भनेकै एक नाटक न हो । यहाँ हरकोही नाटक गर्छन् आफ्नै रङ्गमञ्चमा, सबैको आफ्नै स्वार्थ छ ,रहर छ ।
अनि छ बाध्यता ।
आजको दिन अरुदिन भन्दा निकै फरक छ । अगाडी गेटमा ठुला अक्षरले लेखिएको छ।
“आशुतोष परिणय दिया”
त्यो अपरिचितको नामसँग जोडिएको पछाडिको नाम मेरै हो भन्ने कुरामा अझै आफैलाई बिश्वास दिलाउनु छ।
दिया , हो म त्यही दिया हो ।
सम्भवतः आज मेरो जीवनकै फरक दिन ,अनौठो अनुभवको साथ । फरक यस अर्थले छ कि आजबाट मैले आफ्नो घर परिवर्तन गर्नु पर्नेछ। मसँग जोडिएका सम्बन्धहरु झन बढ्ने छन ।मबाट थुप्रै अपेक्षाहरु राखिने छन् अनि सबै भन्दा आश्चर्यजनक त यो छ कि मेरा आमाबुबाले स्वयं मलाई अपरिचितको हातमा सुम्पिएर मेरो सुरक्षाको दाबी गर्नेछन् ।
अनि यस्तै यस्तै सोच्दै अघि बढेकी थिएँ, म त्यो बेला ।
तर आज त झन्डै २बर्ष बित्न लागेछ तर यो नाटक भने एक घण्टामा, एक दिनमा वा एक वर्षमा पनि सकिनेवाला छैन । यस्को समय रेखाको कुनै सिमा छैन , निरन्तर नितान्त बस चलिरहेछ अनि चलिरहन्छ ।
मेरो श्रीमान ,कानुनले बनाईदिएको ।
मेरो बुवाआमाले स्नेह र मायाले मेरो लागि रोजिदिएको।
उहाँ पेशाले एक सरकारी वकिल हुनुहुन्छ ।
शान्त स्वभाव , दुईबर्षको अन्तरालमा उहाँ कहिलै रिसाएको देखेकै छैन मैले ।
सधैँ अनुहारमा एउटा मन्द मुस्कान छाएकै हुन्छ । निकै कम बोल्नु हुन्छ तर आवश्यकता परेको खण्डमा चैँ बोलेरै मान्छे जितिदिने कला उहाँसँग छ ।
हामी एउटै घरमा , एउटै कोठामा बस्ने दुई फरक प्राणी हौँ।
बिहेको पहिलो रात, उहाँले आफ्नो विगतका कुराहरु मेरो सामु पोख्नु भएको थियो । आफ्नी प्रेमिका अजात कै भएको कारणले बिहे नभएको भन्ने सुन्दा अचम्म पनि लागेको थियो मलाई।
उहाँले आफ्ना कुराहरु थप्दै भन्नू भएको थियो , केटीको परिवारलाई सम्झाउने थुप्रै कोशिश गरियो । पटकपटक गरियो तर उसको परिवारले नै स्वीकार्न नसक्ने भएपछि जन्म दिने आमाबुबाको मन दुखाएर हामी खुसी हुनसक्दैनौँ भन्ने निष्कर्षको साथ हामीले सहमति मै छुट्टिने निर्णय गरेका थियौँ ।
हेर न ,समाज पनि कस्ता कुरीतीको दलदलमा भासिएको छ । हामी पढेलेखेका भएपनी कसैलाई बुझाउन सकिएन । कानूनी प्रक्रियामा जाउँ भने पनि आफ्नै आमाबुबाको विपक्षी बन्न मन लागेन । अन्ततः छुट्टिनुको विकल्प नै थिएन ।
उहाँले मलाई मेरो विगतमा के-के भयो भन्ने प्रश्न कहिलै गर्नु भएन । सायद उहाँ एउटि महिलाको भावनाको स्वतन्त्रताको ख्याल राम्ररी गर्नुहुन्छ ।
तर अचेल घरमा सासुआमाको छुट्टै गुनासो सुन्नुपर्छ हामी दुवैले ।
उहाँ सधैँ नातिनातिनाको मुख नहेरी मर्ने भएँ भन्दै हामीमाथि आफ्नो असन्तुष्टि पोख्नु हुन्छ ।
म केही बोल्दिन तर आशुतोष भने बेलाबेला आमाको छेउमा गई भावुक बन्दै नातिनातिनालाई दिने माया पनि हामीलाई नै दिनुस् न आमा भन्दै आमाको काखमा आफ्नो टाउको राख्दै दु:खहरु बाँढ्न खोज्नु हुन्छ ।त्यसपछि आमा पनि नि:शब्द केही बोल्नु हुन्न।
तर यसको दोषी म हो । मैले स्वीकारेकै छु आफ्नो गल्ति , एकपटक हिम्मत गरेर आशुतोषसँग यस बिषयमा कुरा गर्न चाहेको थिएँ तर खै के ले रोक्यो । एउटै शब्द मुखबाट निकाल्न सकिनँ ।
जे होस् अब आफुलाई तयार बनाएर छिट्टै आशुतोषसँग कुरा गर्नै पर्छ जस्तो लागिरह्यो ।
अफिसबाट उहाँ अचेल निकै ढिला फर्किनु हुन्छ सायद घर आएर सधैँ आमाको एउटै गुनासो सुनिरहन मन मरेर आउँछ होला ।
किन ढिलो आउनुभएको?? आज दिनभरि के के भयो ?? उहाँको अगाडी बसेर यी यावत प्रश्नहरु गर्ने हिम्मत मैले कहिलै गरिनँ । न त म उहाँकी असल श्रीमती बन्न सकेँ न त साथी नै ।
आशुतोषको जीवनमा खै ! मेरो के अस्तित्व छ मलाई थाहा छैन । तर आफ्नो श्रीमानलाई कहिलै आफ्नो नजिक आउने अनुमति नदिने म एक कर्तव्यहिन नामक श्रीमती हुँ।
उहाँको कति गुनासोहरु होलान् मप्रति तर आफ्नो गुनासो, आफ्नो पीडा सबै आफैँभित्र सिमित राख्ने उहाँको विशेषता नै हो। कसैको मन दुखाउनु हुन्न तर मैले उहाँको पवित्र मन पटकपटक दुखाएकै हुन्छु ।
रातको नौ बजिरहेको छ , उहाँ अहिले सम्म घर फर्किनु भएको छैन । छिमेकी काकाकाकी आउनु भएको छ उहाँसँग भेट्न भनेर।
अति जरुरी काम छ कति बेला आशुतोषजी घर आउनु हुन्छ ?? काकाले प्रश्न गर्नु भयो ।
आजमात्रै ढिला भएको हो नत्र अरुबेला त सधैँ ८ बजे सम्म फर्किसक्नु हुन्छ । एक्कैछिन है म फोन लगाएर बुझ्छु।
बाटोमा हुनुहुन्छ ,५मिनेटमा घर आईपुग्नु हुन्छ अरे । मेरो जवाफले काकाकाकीको अनुहारमा सन्तुष्टिको रेखाहरु देखिन थाले ।
मैले तुरुन्तै काकीलाई प्रश्न सोधिहालेँ, “खास के कामले यति रातीसम्म कुर्नुभएको काकी ?”
उहाँले अलि असहज मान्दै उत्तर दिनु भयो , “छोरीलाई ससुरालीमा खुब यातना दिन्छन् नानी ।”
किन र के भए त्यस्तो??
बिहे भएको ३बर्ष बितिसक्यो , एकचोटी बच्चा बसेको थियो खै कुन्नि के भएर मिसक्यारेज भएछ । त्यसपछि अहिलेसम्म बच्चा भएको छैन । आफ्नै घर ल्याएर हामीले थुप्रै ठाउँमा देखायौँ । थुप्रै टेस्टहरु गरायौँ ।
तर अहँ! केहि गर्दा नि भएन।
रिपोर्टमा सबै नर्मल नै भन्छ तर अझै बच्चा बसेको छैन ।अनि यहि विषयमा घरमा विवाद हुँदाहुँदै अचेल त हात समेत उठाउन थालेछन छोरीमाथी ।
हामी पनि छोरीको खुसी चाहान्छौँ । आफुले सक्ने जति सबै थोक गरेर हेरेकै हो अब के कारणले यो सब भईरहेको छ ,थाहा छैन ।
तर हाम्री निर्दोष छोरीलाई हातपात गरेर मानसिक पीडा त सुरुबाटै थियो। अझै शारीरिक पीडा पनि दिन थालेछन पापीहरुले।
कहाँ गएर न्याय मागौँ? हाम्रो आशाको किरण नै आशुतोष बाबू हो , अब उहाँले जे गर भन्नू हुन्छ हामी त्यही गर्ने छौँ । कानुनी बिषयमा कुनै ज्ञान छैन हामीलाई । बस छोरीलाई त्यो नर्कबाट निकालेर ल्याउनु छ यहि आशामा आशुतोष बाबुलाई भेट्न आएका हौँ ।
एउटी आमाको असहय पीडा सुनेर मेरो मन भावुक बन्यो।
एक्कैछिन कल्पनाको सागरमा पौडिदै म आफैँलाई नियालेर हेर्न थालेँ ।
बिहे भएको दुई बर्ष नाघिसकेको छ मेरो। मबाट पनि थुप्रै आशा अपेक्षाहरु थिए होलान् , मेरो श्रीमानको ।
मेरा सासुससुराको एकल छोरो मेरो श्रीमान , उहाँहरूको पनि आफ्नै अपेक्षा चाहानाहरु थिए होलान् , मप्रति ।
तर मैले के दिन सके आजसम्म उहाँलाईलाई?
मेरो कारणले उहाँहरूको नातिनातिनासँग रमाउने चाहाना पनि चाहानामा नै सिमित रह्यो ।
उहाँहरुका सबै ईच्छा चाहानाहरु एकदम जायज पनि छन्।
“नमस्कार बाबू” काकाले परैबाट आशुतोषलाई देखेर सत्कार गर्नु भयो। काकीले पनि हात जोडेर नमस्कार गर्नुभयो ।
आशुतोषले आफू ढिला भएकोमा र काकाकाकीले धेरै बेर सम्म कुर्नु परेकोमा क्षमा मागे।
घरमा आमाबुबा सुतिसक्नु भएको थियो त्यसैले काकाकाकीसँगै म उहाँलाई पर्खिरहेकी थिएँ ।
अब भन्नुहोस् काका कुरा के हो ? आशुतोषले काकालाई सिधै प्रश्न सोधे ।
काकाले पनि छोरीको अवस्था र उनले भोगिरहेको यातना बारे सबै वृतान्त सुनाउनु भयो।
कानुनी प्रक्रियामा जानु अघि एकचोटि बहिनी र ज्वाई दुवै सँग म आफैँ कुरा गर्न चाहान्छु अनि खास कुरा के रहेछ बुझ्ने कोशिस गर्नेछु।
चिन्ता नलिनुस् , निर्दोषलाई कानुनले रक्षा गर्ने छ अनि दोषीलाई अवश्य कारवाही हुनेछ। अब यो सबै कुराको निष्कर्ष म आफैँ निकाल्ने छु । तपाईंहरु पिर नमान्नुस् । आशुतोषका यी वचनहरुले काकाकाकीका अनुहारमा आशाका किरणहरु बिस्तारै छर्दै थिए ।
काकीले केही राहतको सास फेर्नु भएको मैले महसुस गरेँ । त्यसपछि काकाले आशुतोषलाई भोलि छोरी ज्वाईंलाई भेट्न जाने निम्तो दिँदै बिदा माग्नु भयो ,काकीले पनि काकालाई पछ्याउँदै आफ्नो घरतिर लाग्नु भयो।
रात निकै बितिसकेको थियो, मैले खाना पस्किनँ खोज्दा उहाँले बाहिरै खाएर आएको बताउनुभयो ।
आज मलाई आशुतोषसँग कुरा गर्न मन थियो ।काकाकाकीको छोरीको विषयमा उहाँले के निर्णय लिनुहुन्छ जान्न मन थियो।
त्यसैले म उहाँकै नजिक गएर बसेँ अनि एकाएक गर्दै आफ्ना जिज्ञासाहरु राख्न थालेँ।
के साँच्चै अब बैनी-ज्वाईको सम्बन्ध विच्छेद हुन्छ?
के काकाको ज्वाईं साच्चै दोषी छन् त?
सजाय पाउँछन् तिनले अब??
के हुन्छ ती बहिनिको अब भन्नुस् न??
मेरा यति धेरै प्रश्न एकैसाथ सुनेर मुस्कुराउँदै , दुवै हात मेरो गालामा राख्दै , तिमी किन यसरी आत्तिएको हँ?
दोषीले सजाय अवश्य पाउँछ ।
आशुतोषको कुरा सुनेर मैले आफुलाई रोक्नै सकिनँ अनि भनिहालेँ उसोभए मैले पनि सजाय पाउनै पर्छ । म पनि तपाईंकी दोषी हुँ ।
यो घरकै दोषी हुँ।
मैले सबैलाई निराश बनाएकी छु , मलाई पनि आफ्नो कर्मको सजाय दिनुस् प्लिज ।यति भन्दै भक्कानिएँ आफुलाई रोक्नै सकिनँ ।
मेरा बगिरहेका आँशुहरुलाई आफ्ना हातले स्पर्श गर्दै उनी भन्दै गए, ” सायद तिमिलाई थाहा छैन होला दिया , म तिमिलाई अथाह माया गर्छु । हरेक दिन तिमी मसँगै छौ भन्ने कुराले मात्रै पनि मलाई आनन्द दिन्छ। तिमिलाई बिहे गरेर ल्याएकै क्षणदेखी म तिम्रो केवल तिम्रो बनिसकेको थिएंँ।
विवाह भनेको दुई शरीर एक हुनु मात्रै होईन दिया।
दुई आत्माबीच अटुट विश्वास र स्नेह हुनु पनि हो ।
मैले आफ्नो भविष्य तिमिसँग देखेको छु । मलाई विश्वास छ ,तिमिले मलाई एकदिन अवश्य स्वीकार्ने छौ ।
मैले कहिलै आफ्ना यी भावनाहरु तिम्रा सामु राखिन किनभने मलाई लागिरहयो मैले बोलेर व्यक्त गर्न जरुरी नै छैन । तिमी त भावनाहरु बुझ्ने मान्छे हौ , मेरो पनि माया अवश्य बुझ्ने छौ । तर आज तिमिले मलाई बोल्न बेवस बनायौ ।
गल्ती तिम्रो केही पनि छैन, दिया।
हाम्रो समय नै यस्तै रह्यो ।
चाहेर पनि मैले तिमिलाई पुर्ण बनाउन सकिनँ । माफ गरिदेउ मैले आफ्नो मायाले तिमिलाई अझै आफ्नो बनाउनै सकेको छैन ।
आई लभ यु , दिया ।
दिनभरिको थकान आशुतोषको आखैमा प्रष्ट देखिन्थ्यो ।त्यसैले अब सुत्नुहोस् निकै अबेर भईसक्यो भन्दै उहाँलाई सुत्न अनुरोध गरे।
मेरो कुरामा सहमति जनाउदै हवस् भन्दै सुत्नेबेला अन्तिममा उहाँले मेरो आई लभ यु को केही जवाफ आएन है भन्दै जिस्काउने हेतुले मेरो मनमा एक खालको तरङ्ग पैदा गरिदिनुभयो।
म पनि चुपचाप अर्को छेउमा केही नसुनेझैँ पल्टिरहेँ ।
रातभर म निदाउन सकिनँ घडी हेरेँ १:४५ भैसकेको रहेछ। टेबलमा राखेको ल्यापटप तिर आँखा गयो , उठेर ल्यापटप खोलेँ , अनि फेस्बुक भित्र पसे ।
केही नसोची वर्षौँदेखि मेरो फेसबुकको ब्लक लिस्टमा सुरक्षितसाथ राखेको अनुरागलाई अनब्लक गरेर मैले आफैँलाई स्वतन्त्र पारिदिएँ ।
अनब्लक गरेपछी उसको प्रोफाइलमा गएर हेरेँ।
दशैँको तस्बिर हालेको रहेछ । “My happy Family” भनेर माथि क्यापसन लेखिएको थियो । तस्बिरमा अनुराग एक छेउमा बसेका थिए अनि उनकी श्रीमती अर्को छेउमा बिचमा दुई नानीहरु बसेका थिए ।
सबैको अनुहारमा मुस्कान अटाई नअटाई देखिन्थ्यो ।
मैले अनुरागको त्यो तस्बिरमा आशुतोषलाई कल्पना गरेँ । आँखाबाट आँशु खस्यो । यो आँशु जलनको , रिसको या आवेगको केही को पनि थिएन ।
यो आँसु त आशुतोषमाथि मैले गरेको अन्यायको थियो।
मैले आशुतोषलाई दिन नसकेको खुशी, जसमा उसको भरपुर अधिकार छ।
मलाई माफ गरिदेउ आशुतोष, मेरो आँखै अगाडीको मायालाई मैले बुझ्नै सकिनँ । तिमिलाई चिन्न निकै समय लगाएँ।
तर अब एक पल पनि बर्बाद नगरी म जीवन उप्रान्त तिमिसँगै तिम्रै भएर बाँच्न चाहान्छु।
मेरो प्यारो आशुतोष , माया केवल जीवनमा एकचोटि मात्रै हुन्छ भन्ने भ्रम थियो मलाई ।
तर माया एकचोटि , दुईचोटी भन्ने नै हुँदैन ।
माया त निश्चल छ।
पवित्र छ।
जसको एक, दुई वा पहिलो दोश्रो भन्ने कुनै पनि गणित नै हुँदैन । यदि मायाको परिभाषा कतै भटिन्छ भने , त्यो तिमी हौ ।
मेरो मन एक्कासी उत्साहले भरिएर आयो । एकाएक अनुहारमा मुस्कान छायो ।
भोलि मङ्सिर १२ गते अर्थात संयोगले जुरेको हाम्रो तेस्रो “marriage anniversary “, यो दिन मेरो लागी यस पटक निकै खास छ ।
मैले आशुतोषलाई आफ्नो मनको कुरा बताउनु छ। कानुनले मात्रै बनाइदिएको श्रीमान , मेरा आमाबुबाले मात्रै रोजिदिएको नभएर ,
अब मेरो सर्वस्व आत्माले स्विकारेको मेरो श्रीमानसँग भोलिको उज्यालो बिहानीसँगै मैले आफ्नो नयाँ जीवनको आरम्भ गर्नेछु।
अनि आफैँ लेख्ने छु ।
आशुतोष र मेरो जीवनका बाँकी कथाहरु ।
अवश्य लेख्ने छु, मैले बुझ्न नसकेको मायाको कथाहरू ।

फेसबुकबाट तपाईको प्रतिक्रिया