कोरोना महामारीकैबीच चीनको आर्थिक वृद्धिदर १८ प्रतिशतभन्दा बढी
३ बैशाख २०७८, शुक्रबार १०:३०
एजेन्सी । कोरोना महामारीका बीचमा पनि चीनको आर्थिक वृद्धिदर उच्च रहेको छ । शुक्रबार सन् २०२१ को पहिलो चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै चीनले कुल ग्राहस्थ उत्पादनमा १८.३ प्रतिशतले वृद्धि भएको बताएको छ ।
यो चीनले सन् १९९२ देखि चौमासिक विवरण राख्न थाले यताकै सबभन्दा बढी आर्थिक वृद्धिदर हो । तैपनि यो अनुमानित आर्थिक वृद्धिदरभन्दा पनि कम भएको बताइएको छ । सन २०२१ को पहिलो चार महिनामा १९ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।
पछिल्लो समय कोरोना महामारी नियन्त्रण गरेको चीनले तीव्र गतिमा आर्थिक वृद्धि गरेको हो ।
गत वर्ष चीनको आर्थिक वृद्धि ६.८ प्रतिशतमा संकुचित भएको थियो । कोरोना महामारी उच्च विन्दुमा पुगेका बेला लकडाउन गर्नुपरेकाले आर्थिक वृद्धिदर घटेको थियो ।
महामारी नियन्त्रणसँगै खुलेको बजार र स्वदेशमा उत्पादित वस्तुको तीव्र निर्यातले पहिलो चौमासिकमा आर्थिक वृद्धिदर उच्च भएको हो । यद्यपि विश्लेषकहरूले भने सो आर्थिक वृद्धिदर केही समयका लागि मात्र भएको बताएका छन् । उनीहरूका अनुसार यो वर्षका बाँकी दिनहरूमा भने चीनले यो अनुपातको आर्थिक वृद्धिदर कायम राख्न नसक्ने द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया