बालुवाटारमा सरकार र जसपाबीच बैठक सकियो, नेताहरू खुसी हुने यस्तो निष्कर्ष – Nagarikabhiyan : National News

बालुवाटारमा सरकार र जसपाबीच बैठक सकियो, नेताहरू खुसी हुने यस्तो निष्कर्ष

काठमाडौं । नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यदलबीच बालुवाटारमा छलफल सकिएको छ । छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाको सम्बन्धमा गरिरहेको कार्यबारे जानकारी गराइएको छ ।

जसपा नेपालले गत चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा बुझाएको फाइलको प्रगतिबारे छलफल भएको छ ।

गृह मन्त्रालयले जसपाको माग अनुसार काम अगाडि बढाएको जानकारी दिइएको छ । जसपाले बुझाएको फाइलबारे गृह मन्त्रालयले अध्ययन थालिसकेको र चाँडै नै जिल्ला–जिल्लामा सर्कुलर पठाएर बन्दी रिहा गर्ने प्रक्रिया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले जानकारी दिएको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् ।

जसपाको तर्फबाट गठित कार्यदलका सदस्य कर्णले सरकारले मुद्दा फिर्ता र बन्दी रिहा गर्ने प्रक्रिया अगाडि बढाएको र आफूले छिटो गर्न आग्रह गरेको जानकारी दिए । सरकारले प्रक्रिया सुरू गरेका कारण जसपा सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको भन्दै उनले शंका व्यक्त गरे । सरकारी टोलीको कुरा सुनेर जसपा नेताहरू खुसी भएका स्रोतले जनाएको छ ।

सरकारलाई समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहबारे जिज्ञासा राख्दा नेता कर्णले प्रधानमन्त्री ओलीबाट समर्थनको आग्रह सधै आउने गरेको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधैं आग्रह गर्दै आउनुभएको छ, हामीले हाम्रो माग पूरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं,’ कर्णले भने ।

सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै पार्टीमा छलफल हुन बाँकी रहेको कुरा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनले बताएका छन् । मिडिया डबलीबाट