आज तराईमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदै
२ बैशाख २०७८, बिहीबार ०९:३७
जनकपुर । आज तराईका जिल्लाहरुमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ ।
जुडशितलको व्याख्या :
यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ ।
तराई जिल्लाहरु कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभावमा देखिन्छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । यस पर्वमा मानिस, पशुपक्षी, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु माथि पानी जुराउने गरिन्छ ।
जुडशितलको अर्थ :
जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।
जुडशितलमा खानेकुरा :
यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ ।
यस पर्वले सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई तराईका जिल्लाहरुमा नयाँ वर्षका रूपमा पनि मनाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया