आयोगको दोहोरो चाल : कर्मचारीको तलव काट्ने, सरकारसँग छूट माग्ने !
२६ चैत्र २०७६, बुधबार ०८:४१
२६ चैत, काठमाडौं । वायुसेवा सञ्चालक संघ (आयोन) ले लकडाउनको कारण देखाउँदै पाइलट र इन्जिनियरको तलवमा भारी कटौतीको निर्णय लियो । अर्कोतर्फ उसले सरकारसँग पनि विभिन्न सहुलियतको माग गरेर दोहोरो फाइदा लिन खोजेको छ ।
आयोनको निर्णयअनुसार पाइलटको तलव एयरलाइन्स कम्पनीले १ लाख रुपैयाँसम्ममा र हेलिकोप्टर कम्पनीले १ लाख २५ हजारसम्ममा झार्न सक्ने छन् ।
नेपालमा पाइलटको औसत तलव मासिक ५-६ लाख रुपैयाँसम्म तलव हुन्छ । त्यसलाई १ लाखमा झार्नु भनेको निकै ठूलो कटौती हो । लकडाउनका कारण वायूसेवाहरुको आम्दानी सुकेकाले यस्तो निर्णय लिनुपरेको आयोनको तर्क छ । यद्यपी यो निर्णयको सूचना सबै वायुसेवा कम्पनीसम्म गइसकेको छैन ।
खुला बजार अर्थनीतिमा आफ्नो कम्पनीको आर्थिक स्वास्थ्य हेरेर कम्पनी स्वयम्ले कर्मचारी कटौती, कर्मचारीको सेवा-सुविधाबारे निर्णय लिने गर्छन् । तर, संघको नाममा यस्तो निर्णय भएपछि वायुसेवा कम्पनीहरु बीचमै विवाद शुरु भएको छ । आयोनका एक पदाधिकारी यो एउटा प्रस्ताव मात्रै भएको भन्दै कम्पनीहरुका लागि वाध्यकारी नभएको बताउँछन् ।
तर, एक हेलिकोप्टर कम्पनीका सञ्चालकले अनलाइनखबरसँग भने ‘टाट पल्टिन लागेका हेलिकोप्टर कम्पनीका केही मालिक बसेर कर्मचारीको तलव कटौती गर्ने निर्णय गरे, त्यसलाई सबै वायुसेवाको निर्णय जसरी प्रचार भएको छ, यो गलत काम हो ।’
बुद्ध एयरका निर्देशक रुपेश जोशीसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले कर्मचारीको तलव सुविधाको विषयमा कम्पनी आफैंले निर्णय लिने बताए ।
उनले भने, ‘हामी आफ्नो कम्पनीको नीति-नियम, परिस्थिति हेरेर आफ्ना कर्मचारीबारे निर्णय लिन सक्छौं ।’ आयोनका नाममा भएको भनिएको निर्णयबारे आफूहरु अनभित्र रहेको उनले बताए ।
बुद्धले यसअघि नै कर्मचारीलाई नियमित तलव दिएरै बिदामा बस्न भनेको थियो । अर्को प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्स आयोनमा आवद्ध छैन । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम पनि आयोनभन्दा बाहिरै छ । खासगरी नियमित उडान गर्ने ठूला वायूसेवा कम्पनी सबैले कर्मचारीलाई लकडाउनमा पनि नियमित तलबि बिदामा राखेका छन् ।
एक हेलिकोप्टर कम्पनीका सञ्चालकका अनुसार विगतदेखि नै आर्थिक अवस्था कमजोर भएर टाट पल्टिन लागेका कम्पनीका मालिकहरु आयोनका नाममा संस्थागत निर्णय गराउँदा विवादबाट जोगिने आशा गर्छन् । यसरी संस्थागत निर्णय गराउँदा कर्मचारी र पाइलटको विरोध नहुने उनीहरुको विश्वास छ । सोही कारण उनीहरु कर्मचारीको तलव कटाउने चक्करमा लागेका हुन् ।
आयोनले पाइलट तथा इन्जिनियरलाई बेतलवी बिदा समेत दिने तर यसरी खाली भएको समयमा अर्को कम्पनीले लैजान समेत नपाउने निर्णय गरेको छ । यस निर्णयमा पनि ठूला वायुसेवा कम्पनी सहमत छैनन् ।
सरकारसँग छूट र सहुलियत माग
हवाई उडान रोकिएको १५ दिन भएको छ । यो अवधि थप १५ दिन लम्बिने सम्भावना छ । एक महिना व्यवसाय नहुँदा थला पर्ने स्थिति सबै वायू सेवा कम्पनीको अवश्य छैन ।
यसअघि आयोनले व्यापार नभएपछि कम्पनीहरु घाटामा जाने भन्दै सरकारसँग विभिन्न सहुलियतको माग राखेको थियो । बैंकमा तिर्नुपर्ने ब्याजमा पुनकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनर्संरचनाको माग पनि आयोनले गरेको छ ।
यसैगरि, इन्धनको मूल्य घटाउन, इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि करसमेत हटाउन माग गरिएको छ । आयोनले विमानस्थलमा लाग्ने शूल्कमा छूट माग गरेको छ ।
यीमध्ये वित्तीय क्षेत्रसँग सम्बन्धित माग पुरा भएका छन् । इन्धनको मूल्यमा पनि सरकारले निकै कटौती गरिसकेको छ । यद्यपी इन्धनको मूल्य कटौती भए पनि बिमानहरु सञ्चालनमा नआएकाले त्यसको लाभ वायुसेवा कम्पनी पाएका छैनन् ।
कर्मचारीलाई पेल्ने रणनीति
वायुसेवा कम्पनीमा काम गर्ने पाइलट तथा इन्जिनियरहरु सेवा-सुविधाको विषयलाई लिएर विरोधमा उत्रन पाउँदैनन् । किनकी सरकारले वायुसेवा क्षेत्रलाई अत्यावश्यक सेवामा राखेको छ । एक हेलिकोप्टरचालकले अनलाइनखबरसँग गुनासो गरे, ‘हामी अत्यावश्यक सेवामा काम गर्ने भएकाले विरोध गर्न सक्दैनौं, मालिकहरुले कोरोनाको बहानामा पेल्न खोजिरहेका छन् ।
स्रोत: अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया